पाल्पा, रामपुर नगरपालिका वडा नं.९ मा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक संघ रामपुर ९ पाल्पाको आयोजना र ९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा सोमवार वडाभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
समितिले वडा भित्रका ७५ वर्ष माथीका ८३ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला, खाद्यबस्तु र सरसफाईका सामग्री सहित सम्मान गरेको छ ।रामपुर नगरपालिका वडा नं. ९ को जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ आर्थिक सहयोगमा सम्मान गरेको हो ।
जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै रामपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष डिल बहादुर रानाले जेष्ठ नागरिकहरु ज्ञान, संस्कार र अनुभवको खानी भएको बताउनुभयो ।उहाँले जेष्ठ नागरिकहरुको संरक्षण संगै अधिकारका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।
रानाले वडाले जेष्ठ नागरिकहरुको लागि वडाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको भन्दै आगामी दिनमा पनि जेष्ठ नागरिकहरुको सहजता र सुविधाका लागि काम गर्ने बताउनु भएको छ । साथै जेष्ठ नागरिकहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै खानपान र स्वास्थ्यमा ध्यान दिन आग्रह गर्नुभयो । यस्तै जेष्ठ नागरिक संघ रामपुरका अध्यक्ष कृष्ण प्रसाद अर्यालले पछिल्लो समय केही जेष्ठ नागरिकहरु अवहेलनामा पर्दै गएको भन्दै अधिकार संरक्षणका लागि सबैले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
उहाँले समग्र रामपुर नगरपालिकाभित्रका जेष्ठ नागरिकहरुलाई समेट्ने गरी कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।जेष्ठ नागरिकहरुको सरल जीवनयापनका लागि सन्तान र संरक्षकले ध्यान पुर्याउनु पर्ने बताउनुभयो ।रामपुर ९ को वडा कार्यालय भवन जप्गादीमा भएको कार्यक्रममा जेष्ठ नागरिक संघ पाल्पाका सदस्य केशवराज पंगेनीले जेष्ठ नागरिकको अधिकारका लागि संगठित भएर लागेको भन्दै अप्ठ्यारोमा परेका जेष्ठ नागरिकहरुलाई सहयोग गर्न जेष्ठ नागरिक संघ साथमा रहेको बताउनुभयो ।
यस्तै जेष्ठ नागरिक संघ रामपुर ९ का अध्यक्ष मोहनलाल खनालले जेष्ठ नागरिकहरुप्रति स्थानीय सरकारले देखाएको चासो र प्राथमिकताप्रति आभार प्रकट गर्नुभयो ।जेष्ठ नागरिकहरुलाई खुशी र हौसला प्रदान गर्नका लागि सम्मान गरिएको वडा नं. ९ का स्थानीय पञ्जिकाधिकारी एवं रामपुर नगरपालिका राजश्व शाखा प्रमुख चिन्तामणी भण्डारीले जानकारी दिनुभयो । जेष्ठ नागरिक संघ रामपुर ९ पाल्पाका अध्यक्ष मोहनलाल पंगेनीको अध्यक्षतामा भएको जेष्ठ नागरिक सम्मान कार्यक्रम वडा नं. ९ का अध्यक्ष डिल बहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन स्थानीय पञ्जिकाधिकारी चिन्तामणी भण्डारीले गर्नु भएको थियो ।




