नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीको गाउँ परिषद सम्पन्न

बोली खबर   २०८३-०३-०१


होम राई मगर
पाल्पा / १ असार । नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी,पाल्पाको ८ औं गाउँ परिषद सम्पन्न भएको छ ।
संगठनका अध्यक्ष केश बहादुर सुनारीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला अध्यक्ष हिरा आचार्य रहनु भएको थियो ।

कार्यक्रममा अध्यक्ष आचार्यले विभिन्न समयमा शिक्षकहरूले गरेको शैक्षिक आन्दोलनको स्मरण गर्दै आन्दोलनको आवश्यक र परिणाम बारे बोल्नु भएको थियो । उहाँ वर्तमान सरकारले शिक्षक लगायत अन्य ट्रेड युनियन सन्चालन गर्न प्रतिबन्ध गरेर पेशागत अधिकार कुण्ठित गर्न लागेको बताउनु भयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले शिक्षकहरुको सामाजिक बिकासका लागि महत्त्वपूर्ण भूमिका रहेको र गुणस्तरीय शिक्षा प्रदान गर्न सदैव सकारात्मक सोचको बिकास हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम निर्माण गर्ने समय भएकोले आवश्यक सुझाव दिन आग्रह समेत गर्नु भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ, संगठनका जिल्ला कोषाध्यक्ष दीर्घराज आचार्य, निवर्तमान शिक्षा संयोजक नर बहादुर थापा, जिल्ला सचिवालय सदस्य पदम बहादुर थापा लगायतकाले आ-आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा अध्यक्ष सुनारीले संगठनिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै निस्दीमा नेपाल राष्ट्रिय शिक्षक संगठन बलियो रहेको बताउनुभयो । उहाँले संगठनले आर्थिक अभाव भए पनि विभिन्न स्रोतहरुको पहिचान गरेर विभिन्न रचनात्मक कार्य गरेको बताउनु भयो ।

संगठनले सोही अवसरमा यस वर्षको एसइइमा उत्कृष्ट जिपिए प्राप्त गर्न सफल जनता मावि गल्धाका सबिना बयम्बु, गरिमा सारु, झरना बयम्बु बालहित माविका सरिना मल्ल, शरदचन्द्र थापालाई सम्मान गरेको छ । त्यसैगरी आधारभूत तह उत्तीर्ण परिक्षामा उत्कृष्ट विद्यार्थी जनकल्याण आवि मित्यालका अनुष्का सोमै , शिक्षक पेशाबाट अवकाश शिक्षकहरु र विभिन्न तहमा बढुवा हुने शिक्षकहरुलाई समेत सम्मान गरेको छ ।

संगठनका उपाध्यक्ष उमेश कुमार गाहाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन सचिव गिम बहादुर जर्घाले गर्नु भएको हो ।