अवलोकन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

बोली खबर   २०८३-०३-०१

रामपुर नगरपालिका वडा नं. ४ को आयोजनामा टोल विकास संस्था, महिला समूह तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको सहभागितामा संस्थागत विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा बजेट व्यवस्थापन सम्बन्धी अध्ययन अवलोकन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

रामपुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिका नगरप्रवक्ता कपिल बहादुर खाण को प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

जेठ २९ गतेदेखि ३१ गतेसम्म ढोरपाटन नगरपालिकाको विभिन्न महत्वपूर्ण ठाउँ हरुको अवलोकन संगै सोही नगरपालिकाको वडा नं. १ बुर्तिबाङमा कार्यक्रम संचालन गरिएको हो। कार्यक्रममा वडा नं. ४ अन्तर्गतका टोल विकास संस्था, महिला समूह तथा विभिन्न सामाजिक संस्थाका गरी ४८ जना सहभागी रहेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष राम बहादुर रानाले सिकाइ सधैं पढेर, बोलेर मात्रै हुँदैन सिकाइ त प्रत्यक्ष रुपमा हेरेर पनि गर्न सकिन्छ। हामी तपाईं हरु लाई यहाँ सम्म ल्याउनुको उद्धेश्य तपाईं हरुले प्रत्यक्ष रुपमा यहाँका ठाँउ अनि यहाँका मानिसहरुको दैनिक जिबिकोपार्जन का बारेमा बुझेर आफ्ना ठाँउका सम्भावना र त्यसबाट आफ्ना टोलबासि कसरी लाभान्वित हुन्छन् र आगामी दिनहरुमा आन्तरिक र बाह्य रुपमा आफ्ना ठाँउ परिचित गराइ आम्दानीको श्रोत समेत पत्ता लगाएर अघि बढ्न प्रेरित हुनुहोस् भन्ने हो र त्यसमा तपाईं हरु सबै लाग्नुहुनेछ भन्ने आह्वान समेत गर्नुभएको थियो।

कार्यक्रममा नगर प्रवक्ता कपिल बहादुर खाण ले प्रशिक्षकको रूपमा सहजीकरण गर्दै संस्थागत सुदृढीकरण, सुशासन, नेतृत्व विकास, योजना तर्जुमा, आर्थिक व्यवस्थापन, बजेट विनियोजन तथा स्थानीय विकासमा समुदायको भूमिकाबारे विस्तृत जानकारी प्रदान गर्नुभएको थियो।

कार्यक्रममा रामपुर नगरपालिकाको समग्र विकास, सम्भावना र भावी दिशाबारे पनि चर्चा गरिएको थियो। प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले सम्पन्न रामपुर नगरपालिका कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित छ। स्थानीय स्रोत र साधनको प्रभावकारी उपयोग, समुदायको सक्रिय सहभागिता तथा संस्थागत सुदृढीकरणमार्फत समृद्ध रामपुर निर्माणमा नगरपालिका निरन्तर अग्रसर रहेको छ।
त्यस्तैगरी वडा नं. ४ पर्यटनको दृष्टिकोणले महत्वपूर्ण क्षेत्र मानिन्छ। यहाँ रहेका प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा, ग्रामीण जीवनशैली र पर्यटकीय गन्तव्यहरूको संरक्षण तथा प्रवर्द्धनमार्फत आन्तरिक र बाह्य पर्यटन विकासको प्रशस्त सम्भावना रहेको छ। पर्यटन क्षेत्रको विकासले स्थानीय रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा समग्र स्थानीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा शैक्षिक संस्थाहरूको भूमिकालाई समेत विशेष रूपमा जोड दिइएको थियो। विद्यालय तथा क्याम्पसहरू केवल शैक्षिक ज्ञान प्रदान गर्ने केन्द्र मात्र नभई सामाजिक रूपान्तरण, नेतृत्व विकास, वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व तथा समुदाय विकासका प्रमुख साझेदारका रूपमा रहेको उल्लेख गरियो। स्थानीय विकासका योजना, पर्यटन प्रवर्द्धन, सरसफाइ, जनचेतना अभिवृद्धि तथा सामाजिक अभियानहरूमा शैक्षिक संस्थाहरूको सक्रिय सहभागिताले दिगो विकासको आधार तयार गर्ने धारणा व्यक्त गरिएको थियो।

अध्ययन अवलोकनका क्रममा सहभागीहरूले विभिन्न ठाँउ हरुको दृश्यअवलोकन संगै सफल अभ्यास, कार्यशैली तथा विकासका नमूनाहरूको अवलोकन गरी अनुभव आदानप्रदान गरेका थिए। साथै संस्थाहरूलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने विषयमा छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो।
कार्यक्रमले टोल विकास संस्था, महिला समूह तथा अन्य सामाजिक संस्थाहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय तहको विकास प्रक्रियामा सक्रिय सहभागिता बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरेको छ। सहभागीहरूले प्राप्त ज्ञान र अनुभवलाई आफ्ना संस्थाहरूमा व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता समेत जनाएका थिए।

वडा सदस्य ताजिम शेखको स्वागत बाट सुरु भएको कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं १ का वडा सदस्यहरु अन्जु बिस्वकर्मा र रमिता रोका ,रामपुर नगरपालिका पुर्व उप- प्रमुख बिस्णु देवि घिमिरे आचार्य , समाजसेवी दुर्गा देवि राना , सिताराम मा .वि प्रधानाध्यापक हरि प्रसाद घिमिरे , एकल महिला वडा संजाल अध्यक्ष कबिता मल्ल , गोदाम चौतारी टोल बिकास संस्थाका अध्यक्ष मोहन थापा लगाएतले संस्था बिकास र त्यस्का लागि आफुले निभाउनुपर्ने भुमिका र जिम्मेवारीमा सदैव लाग्ने प्रतिबद्धता सहित आफ्ना भनाइ राख्नुभएको थियो।

कार्यक्रममा वडा सदस्य कमला रुचालले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा प्रशिक्षक, सहभागी तथा सहयोगी सम्पूर्ण प्रति धन्यवाद दिनुभएको कार्यक्रमको सन्चालन वडा सदस्य मोहन सिं रानाले गर्नुभएको थियो।