अर्चलेको लेकडाँडा : आन्तरिक पर्यटकको रोजाइँ बन्दै

बोली खबर   २०८३-०३-०१


होम राई मगर
पाल्पा / असार १ ।निस्दी गाउँपालिका–६ ,अर्चले
पाल्पा जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर–६ अर्चलेस्थित लेकडाँडा पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, शान्त वातावरण र मनोरञ्जनका नयाँ संरचनाहरू निर्माण भएपछि यहाँ घुम्न आउने आगन्तुकको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ।
यस आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारको करिब ८ लाख रुपैयाँको लागतमा लेकडाँडामा पिङ, चिप्लेटी तथा नेपालको राष्ट्रिय झण्डा निर्माण गरेको छ।

यी संरचनाले पर्यटकलाई थप आकर्षित बनाएको स्थानीयवासी बताउँछन्।
निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुका अनुसार लेकडाँडा अहिले गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ ।


उहाँ भन्नुहुन्छ, “लेकडाँडाको प्राकृतिक सौन्दर्यसँगै मनोरञ्जनका पूर्वाधार थपिएपछि विशेषगरी शनिबार र आइतबार बिदाको दिन घुम्न आउनेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। गाउँपालिकाले यस क्षेत्रको थप विकास र प्रवर्द्धनका लागि आवश्यक योजना अघि बढाइरहेको छ ।”
पहिले स्थानीयवासीले गाईवस्तु चराउन प्रयोग गर्ने गौचरन क्षेत्रका रूपमा चिनिएको यो स्थान अहिले पर्यटकीय केन्द्रमा रूपान्तरण हुँदै गएको छ। हरियाली वन, खुला चौर र वरपरका मनोरम दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ ।
वडा नम्बर–६ का अध्यक्ष मेख बहादुर सुनारीका अनुसार स्थानीय सरकारको पहल र समुदायको सहयोगले लेकडाँडाको स्वरूप परिवर्तन हुन थालेको हो ।
उहाँले भन्नुभयो, “यसअघि यो क्षेत्र गौचरनका रूपमा मात्र प्रयोग हुन्थ्यो। अहिले पर्यटकीय पूर्वाधार निर्माण भएसँगै यहाँको महत्व बढेको छ। आन्तरिक पर्यटकको आगमनले स्थानीय उत्पादनको बिक्री र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्न थालेको छ।”


स्थानीयवासीका अनुसार लेकडाँडाबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। स्वच्छ हावा, हरियाली वातावरण तथा पारिवारिक घुमफिरका लागि उपयुक्त स्थान भएकाले युवा, विद्यार्थी तथा परिवारसहित आउने पर्यटकको संख्या बढ्दै गएको छ । पछिल्लो समयमा यस क्षेत्र सेरोफेरोका पर्यटकहरु स्थानीय स्तरमा रहेका सांस्कृतिक प्रस्तुतिहरु कौरा, झ्याउरे, सालैजो सहितको नाचगान गर्नेको संख्यामा वृद्धि भएको वडा सदस्य प्रकाश रानाको भनाइ रहेको छ ।


पर्यटन प्रवर्द्धनका लागि थप पूर्वाधार निर्माण, विश्रामस्थल, खानेपानी तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्न सके लेकडाँडा निस्दी गाउँपालिकाकै मात्र होइन, पाल्पा जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने स्थानीयको विश्वास रहेको छ।