महिला पत्रकार दुःखी भए देश समृद्ध बन्न सक्दैन : मन्त्री अहिर

बोली खबर   २०८३-०३-०४

बुटवल, असार ४ । लुम्बिनी प्रदेशका महिला पत्रकारहरूको पेशागत दक्षता, नेतृत्व क्षमता तथा विषयगत ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुईदिने “महिला पत्रकार क्षमता विकास कार्यक्रम” बुटवलमा सम्पन्न भएको छ।

कार्यक्रमको समन्वय सञ्चारिका समूह लुम्बिनी तथा लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय को सहयोगमा असार ३ र ४ गते सञ्चालन गरिएको उक्त कार्यक्रम महिला पत्रकारहरूको क्षमता विकास, लैङ्गिक संवेदनशील पत्रकारिता तथा सञ्चार क्षेत्रका विविध विषयमा केन्द्रित रहेको थियो।

कार्यक्रमको समापन समारोहमा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री अहिरले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै महिला पत्रकारहरूको भूमिका समाज रूपान्तरणमा अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।

उहाँले महिला पत्रकारहरूको पेशागत सुरक्षा, सम्मान र क्षमता विकासमा राज्य संवेदनशील हुनुपर्नेमा जोड दिँदै महिला पत्रकारहरूलाई प्रोत्साहन र अवसर प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। “महिला पत्रकारहरू नै दुःखी, निरुत्साहित र असुरक्षित हुने अवस्था रहिरह्यो भने देशले अपेक्षा गरेको विकास र समृद्धि हासिल गर्न सक्दैन,” मन्त्री अहिरले भन्नुभयो, “महिलाको सशक्त सहभागिता बिना समावेशी समाज र समृद्ध राष्ट्र निर्माण सम्भव छैन।” उहाँले महिला पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रहरी उपरीक्षक जनकबहादुर शाही ले नेपाल प्रहरीको वर्तमान अवस्था, अपराध तथा सुरक्षा सम्बन्धी तथ्याङ्क, पत्रकारितामा तथ्य र स्रोतको प्रयोग तथा जिम्मेवार अपराध रिपोर्टिङका विषयमा सहजीकरण गर्नुभयो। उहाँले समाचार सम्प्रेषण गर्दा आधिकारिक स्रोतको प्रयोग, तथ्यको पुष्टि र संवेदनशील घटनाको जिम्मेवार ढङ्गले रिपोर्टिङ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

त्यसैगरी बुद्ध आवाजका सम्पादक तथा सञ्चारिका समूह लुम्बिनीका पूर्व अध्यक्ष पार्वती पाण्डे ले लैङ्गिक संवेदनशील पत्रकारिता, समाचार लेखन, सञ्चार क्षेत्रमा महिलाको सहभागिता तथा महिला पत्रकारहरूले सामना गरिरहेका अवसर र चुनौतीका विषयमा सहजीकरण गर्नुभयो। उहाँले पत्रकारितामा विश्वसनीयता, तथ्यपरकता र व्यावसायिकता कायम राख्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा जिल्ला अदालत रुपन्देहीका तहसिलदार कृष्णप्रसाद पौडेल ले अदालतको संरचना, न्यायिक प्रक्रिया, हिंसासम्बन्धी मुद्दा, अदालतमा दर्ता हुने विभिन्न प्रकृतिका मुद्दा तथा न्यायिक विषयको प्रभावकारी रिपोर्टिङका विषयमा प्रशिक्षण दिनुभयो। उहाँले अदालतसँग सम्बन्धित समाचार लेख्दा कानुनी संवेदनशीलता, तथ्यपरकता र सन्तुलनलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

सोहि अबसरमा अधिवक्ता इन्दिरा आचार्य ले महिला अधिकार, लैङ्गिक हिंसासम्बन्धी मुद्दा, कानुनी उपचारका उपाय तथा महिला सम्बन्धी संवेदनशील विषयलाई सञ्चारमाध्यममार्फत जिम्मेवार ढङ्गले उठाउनुपर्ने विषयमा सहजीकरण गर्नुभयो। उहाँले अदालत र सञ्चार क्षेत्रबीचको सम्बन्ध तथा न्यायिक विषयको समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउनुभयो।

करिब ४० जना महिला पत्रकारहरूको सहभागिता रहेको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी पत्रकारहरूले अनुभव आदानप्रदान गर्दै पत्रकारिता क्षेत्रमा देखिएका चुनौती, समस्या तथा समाधानका उपायबारे छलफल गरेका थिए। सहभागीहरूले यस्ता तालिमले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा व्यावसायिक दक्षता बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।