पाल्पा । “सुखी, समृद्ध, सुसंस्कृत शहर, समुन्नत रामपुर, हाम्रो रहर” भन्ने मूल नाराका साथ रामपुर नगरपालिकाको आयोजनामा वडा नं. ४ मा महिला समूहलाई लक्षित गरी सामाजिक सुरक्षा, लैङ्गिक उत्तरदायी बजेट तथा सबै प्रकारका दुर्व्यवहार सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

रामपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षता तथा नगर उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिला तथा बालबालिकामाथि हुने हिंसा तथा दुर्व्यवहार न्यूनीकरणका विषयमा विशेष छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख प्रशिक्षक तथा इलाका प्रहरी कार्यालयका प्रमुख लालबहादुर सुनारले महिला हिंसा, विभिन्न प्रकारका दुर्व्यवहार, पछिल्लो समय स्थानीय तहमा देखिएका घटनाहरू तथा तिनको रोकथामका उपायबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि परिवार, समुदाय र सरोकारवाला निकायबीच साझा जिम्मेवारी र सचेतनाको आवश्यकता रहेको बताउनुभयो।

त्यसैगरी महिला तथा बालबालिका शाखा रामपुरका प्रमुख पूजा परियारले सञ्चालन तथा सहजीकरण गर्नुभएको कार्यक्रममा महिलाको पहुँच, अधिकार, समानता र समताको विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो। उहाँले महिलाको सशक्तीकरण र सक्रिय सहभागिताले समाजको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूको तर्फबाट श्री जनहित बौद्ध बिहार टोल विकास संस्थाकी अध्यक्ष सन्जु देवी परियारले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समाजमा हुने हिंसा तथा दुर्व्यवहार न्यूनीकरणका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


