पाल्पा क्षेत्र नं. १ मा माटो परीक्षण शिविर सुरु

बोली खबर   २०८३-०३-०७

पाल्पा, असार ६ । पाल्पा क्षेत्र नं. १ का कृषकहरूका लागि प्रतिनिधिसभा सदस्य सन्दीप रानाको पहलमा “मेरो सांसद, मेरो अधिकार” कार्यक्रमअन्तर्गत माटो परीक्षण शिविर सुरु गरिएको छ। ३७ वटै वडामा माटो परीक्षण गरी “माटो सुहाउँदो एक वडा–एक कृषि बाली उत्पादन” अभियान सञ्चालन गर्ने लक्ष्यसहित रामपुर नगरपालिकाबाट कार्यक्रम शुभारम्भ गरिएको हो।

रामपुर नगरपालिका र कालीगण्डकी फाउण्डेशन नेपालको सहकार्यमा आयोजित शिविर उद्घाटन गर्दै सांसद रानाले कृषि उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताका लागि माटोको स्वास्थ्य सुधार अपरिहार्य रहेको बताउनुभयो। उहाँले माटो परीक्षण गरी आवश्यक पोषक तत्वको अवस्था पहिचान गरेर मात्र खेती गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले माटोको अम्लियपन घटाउन कृषि चुन वितरण गरिएको जानकारी दिँदै अभियानलाई आवश्यक सहयोग गर्ने बताउनुभयो। व्यवसायिक कृषक दिलबहादुर थापाले आधुनिक कृषिका लागि माटो परीक्षण महत्वपूर्ण रहेको धारणा राख्नुभयो।

कृषि विज्ञ निर्जल पाण्डेका अनुसार शिविरमा रामपुर नगरपालिकाबाट ४ सय माटोका नमुना संकलन भएका छन्। परीक्षणपछि नाइट्रोजन, फस्फोरस, पोटासियम तथा अम्लियपनको अवस्था विश्लेषण गरी उपयुक्त बाली र मलको मात्रा सिफारिससहित कृषकलाई माटो स्वास्थ्य कार्ड प्रदान गरिनेछ।

शिविर रामपुरपछि निस्दी, पूर्वखोला, रम्भा र माथागढी गाउँपालिकामा पनि सञ्चालन गरिने जनाइएको छ।