१२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जनविकास योग हल समुद्घाटन

बोली खबर   २०८३-०३-०७


रामपुर, असार ७ । १२ औँ अन्तर्राष्ट्रिय योग दिवस २०८३ को अवसरमा रामपुर नगरपालिका–३ रजघरास्थित जनविकास माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको जनविकास योग हल समुद्घाटन गरिएको छ। “स्वस्थ आयुका लागि योग” भन्ने नारासहित आयोजित कार्यक्रममा योग अभ्यास तथा योग हल समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य सन्दीप रानाले योग हलको समुद्घाटन गर्दै योगलाई केवल शारीरिक अभ्यास मात्र नभई जीवनलाई अनुशासित, सन्तुलित र सकारात्मक दिशामा अघि बढाउने वैदिक सनातन परम्परामा आधारित जीवनशैली भएको बताउनु भयो। उहाँले योगको उत्पत्ति वैदिक सनातन संस्कृतिबाट भएको उल्लेख गर्दै आज यो अभ्यास विश्वभर फैलिएको र मानव स्वास्थ्य तथा मानसिक शान्तिको महत्वपूर्ण आधार बनेको धारणा व्यक्त गर्नुभयो।


उहाँले विद्यालयस्तरबाटै योग संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउँदै योग हलले विद्यार्थी, शिक्षक तथा समुदायलाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले योगले नेपाल मात्र नभई विश्व समुदायलाई समेत स्वस्थ जीवनतर्फ उन्मुख गराउने साझा साधनका रूपमा स्थापित भएको बताउनु भयो।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयुर्वेद अस्पताल रामपुरका प्रमुख चेतनप्रकाश पोखरेल, रामपुर पतञ्जली योग समितिका अध्यक्ष सुदीप गैरे तथा नेपाल पत्रकार महासङ्घ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।


कार्यक्रमको सुरुवात वैदिक विधिअनुसार हवन तथा पूजाआजाबाट गरिएको थियो। त्यसपछि विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीको सहभागितामा सामूहिक योग अभ्यास सम्पन्न भएको थियो। योग दिवसको अवसरमा विभिन्न योगासन तथा अभ्यास प्रदर्शन गरिनुका साथै योगप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताउनु भयो।


विद्यालयका शिक्षक कृष्णकला कँडेल भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा योगको नियमित अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्नेमा जोड दिइएको थियो। सहभागीहरूले जनविकास योग हलको निर्माणले विद्यालय तथा समुदायस्तरमा योग गतिविधि सञ्चालन गर्न थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।