शिक्षा, युवा बधाई तथा शैक्षिक सम्मान कार्यक्रम सम्पन्न

बोली खबर   २०८३-०३-०७

रामपुर नगरपालिका वडा नं. ४ को आयोजनामा शिक्षा, युवा बधाई तथा शैक्षिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, वडा भित्र गठित बाल क्लबका अध्यक्ष, विद्यालयका उत्कृष्ट शिक्षक, साथै वडामा क्रियाशील राजनीतिक दल र पत्रकारहरूलाई सम्मान गरिएको हो।

कार्यक्रम रामपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सन्दीप राना रहनुभएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रानाले पहिले र अहिलेको शिक्षामा ठूलो अन्तर रहेको उल्लेख गर्नुभयो। उहाँले पहिलेको समयमा पढाइसँगै काम गर्नुपर्ने बाध्यता रहेको भए पनि अहिले विद्यार्थीहरूले पूर्ण रूपमा अध्ययनमा ध्यान दिन सक्ने अवस्था रहेको बताउनुभयो।

उहाँले वर्तमान शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी संस्कारसहितको शिक्षा र वैदिक शिक्षासँग जोड्न आवश्यक रहेको बताउनुभयो। संस्कार र नैतिक मूल्यबिना शिक्षा पूर्ण नहुने भन्दै उहाँले घर, विद्यालय र समाज सबैले मिलेर विद्यार्थीमा राम्रो आचरण र मूल्य–मान्यता विकास गर्नुपर्नेमा जोड दिनुभयो।

साथै, उहाँले घरायसी तथा खेतबारीका कामसँगै व्यवहारिक सीप सिक्नुपर्ने आवश्यकता औँल्याउँदै अबको शिक्षा जीवन उपयोगी हुनुपर्ने धारणा राख्नुभयो। शिक्षकहरूले गुणस्तरीय शिक्षामा विशेष ध्यान दिनुपर्ने र अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई संस्कारयुक्त शिक्षातर्फ प्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट भएर अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा नगर शिक्षा अधिकृत विकल काफ्ले, रामतुलसी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक श्रेष्ठ, रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद रेग्मी, रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल, सिताराम माविका प्रअ हरि प्रसाद अधिकारी तथा २०८२ सालमा ४ जीपीए ल्याउने आकृति बाकावल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।

वडा सदस्य महमद ताजिम शेषको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सदस्य मोहोनसी रानाले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन वडा सदस्य सीमा रानाले गर्नुभएको थियो।

कार्यक्रम वडा नं. ४ को सभाहलमा सम्पन्न भएको हो।