सामाजिक सञ्जाल, भावनात्मक खालीपन र बढ्दो सामाजिक–लैङ्गिक विकृतिसम्बन्ध हराउँदै जाँदा दुर्घटनातर्फ धकेलिँदै समाज

बोली खबर   २०८३-०३-०९

बन्दना पोखरेल उपाध्यक्ष नेपाल पत्रकार महासंघ पाल्पा शााखा


सामाजिक सञ्जाल, भावनात्मक खालीपन र बढ्दो सामाजिक–लैङ्गिक विकृति
सम्बन्ध हराउँदै जाँदा दुर्घटनातर्फ धकेलिँदै समाज

आजको समय प्रविधिको समय हो। हात–हातमा स्मार्टफोन छन्, संसार एक क्लिकमै सीमित भएको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालले टाढाका मानिसलाई नजिक ल्याइदिएको छ। सूचना, शिक्षा, व्यापार, मनोरञ्जन र जनचेतनाका हिसाबले सामाजिक सञ्जाल आधुनिक युगको शक्तिशाली माध्यम बनेको छ ।
तर यही सामाजिक सञ्जालले समाजभित्र एउटा गहिरो संकट पनि जन्माइरहेको छ ।भावनात्मक सम्बन्धको खस्कँदो अवस्था, पारिवारिक दूरी, बढ्दो सामाजिक तथा लैङ्गिक विकृति, मानसिक तनाव, साइबर अपराध र मानविय सम्बन्धको विघटन। आज मानिसहरू हजारौं “अनलाइन साथी” बीच घेरिएका छन्, तर आफ्नै घरभित्र भने एक्लोपन महसुस गरिरहेका छन्। मानिसहरू पहिलेभन्दा धेरै “कनेक्ट” देखिए पनि वास्तविक सम्बन्ध भने कमजोर हुँदै गएका छन्।
परिवारभित्र हराउँदै गएको आत्मीयता एक समय परिवारभित्र संवाद थियो।आमाले “खाना खायौ?” भनेर सोध्थिन्।बुबाले “आज काम कस्तो भयो?” भनेर चासो राख्थे। श्रीमान–श्रीमतीबीच दुःख–सुख साटासाट हुन्थ्यो। छोराछोरीको अनुहार हेरेर मनको अवस्था बुझिन्थ्यो। साँझ परिवार एकै ठाउँमा बस्ने संस्कार थियो।
मोबाइलभन्दा मानिस महत्त्वपूर्ण थिए। सम्बन्धहरू “अनलाइन” होइन, “मन” बाट चल्थे। तर अहिले मोबाइलले परिवारको बीचमा अदृश्य पर्खाल बनाइदिएको छ। एउटै घरभित्र बसेर पनि सबैजना फरक–फरक दुनियाँमा हराइरहेका छन्। आमा फेसबुकमा व्यस्त छिन्। बुबा टिकटक स्क्रोल गरिरहेका छन्। छोराछोरी गेम र रिल्समा हराइरहेका छन्। श्रीमान श्रीमती एउटै ओछ्यानमा बसेर पनि मोबाइलमा व्यस्त छन्। संवाद घटेको छ। समय घटेको छ। भावना बुझ्ने मानिस घटेका छन्।
आज धेरै सम्बन्ध प्रेमको कमीले होइन, “वास्ता” को कमीले टुटिरहेका छन्।

कामका सिलसिलामा घरभन्दा टाढा हुँदा बढ्ने भावनात्मक दूरी पनि उस्तै छ ।
आज लाखौं नेपालीहरू रोजगारी, अध्ययन वा व्यवसायका कारण घरभन्दा टाढा छन्। कोही विदेशमा छन्, कोही शहरमा कोठा लिएर बसेका छन्, कोही बिहानदेखि रातिसम्म कामको चापमा छन्। दिनभर काम गरेर थाकेको मानिसलाई साँझ के चाहिन्छ? धेरै पैसा होइन। धेरै विलासिता होइन। उसलाई चाहिन्छ —दुई शब्द आत्मीयता। कसैले “खाना खायौ?” भनेर सोधिदियोस्। “आज धेरै थाकेजस्तो छौ” भनेर महसुस गरिदियोस्। “तिमी ठीक छौ?” भनेर चिन्ता गरिदियोस्। तर अहिले धेरै मानिसहरू घरभित्रै पनि एक्लो भइरहेका छन्। कतिपय अवस्थामा परिवारबाट फोन आउँदैन।
श्रीमान श्रीमतीबीच खुलेर संवाद हुँदैन। छोराछोरीको मनोविज्ञान बुझ्न अभिभावकसँग समय छैन। जब आफ्नै घरमा भावना बुझ्ने कोही हुँदैन, तब मानिसहरू सामाजिक सञ्जालतर्फ भावनात्मक सहारा खोज्न थाल्छन्।
“तिमी आज धेरै राम्री देखिएकी छौ…” — यहीँबाट सुरु हुन्छ भावनात्मक कमजोरी
धेरै महिलाहरू, किशोरीहरू वा भावनात्मक रूपमा उपेक्षित व्यक्तिहरू घरभित्र माया, सम्मान र ध्यानको अभाव महसुस गरिरहेका हुन्छन्। जब घरमा कसैले “खाना खायौ?” “किन उदास छौ?” “आज कस्तो भइरहेको छ?” “तिमीलाई के चिन्ता छ?” भनेर सोध्दैन, तब बाहिरबाट आएको सामान्य आत्मीय व्यवहारले पनि मन छोइरहेको हुन्छ।् सामाजिक सञ्जालमा कसैले आएर “तिमी आज धेरै राम्री देखिएकी छौ…”“तिमीलाई कसैले बुझ्दैन जस्तो लाग्छ…”“म तिम्रो कुरा सुन्छु…” “तिमी विशेष छौ…”भनिदियो भने त्यो सामान्य शब्द मात्र हुँदैन, त्यो भावनात्मक रूपमा एक्लिएको मनका लागि सहारा बन्न सक्छ।मानिस शरीरले भन्दा पहिले मनले थाक्छ। मनलाई माया चाहिन्छ। सम्मान चाहिन्छ। सुन्ने कान चाहिन्छ। जब त्यो आफ्नै परिवारबाट पाइँदैन, तब बाहिरको सहानुभूति आकर्षण बन्न थाल्छ। सुरुमा सामान्य कुराकानी हुन्छ। पछि दैनिक च्याट हुन्छ। त्यसपछि भावनात्मक निर्भरता बढ्छ।र अन्ततः सम्बन्ध गलत दिशातर्फ जान सक्छ।महिलाहरू र बढ्दो लैङ्गिक जोखिम लैङ्गिक दृष्टिकोणले हेर्दा महिलाहरू प्रायः भावनात्मक सम्बन्धलाई गहिरो रूपमा लिने गर्छन्। उनीहरू सम्मान, सुरक्षा, आत्मीयता र भरोसा खोजिरहेका हुन्छन्।

जब आफ्‌ना र आफ्‌नै घर वाट त्यी सव प्राप्त हुदैन अनि लिन्छन् सामाजिक संजालको सहारा । तर कतिपय व्यक्तिहरूले यही भावनात्मक कमजोरीलाई प्रयोग गरिरहेका हुन्छन्। प्रेमको नाममा विश्वास जित्ने,निजी तस्बिर माग्ने, भिडियो कल गर्ने, पछि ब्ल्याकमेल गर्ने,धम्की दिने,पैसा असुल्ने जस्ता घटनाहरू अहिले बढिरहेका छन्। धेरै महिलाहरू प्रेम र सहानुभूतिको नाममा ठगिने, प्रयोग हुने र पछि मानसिक पीडामा पर्ने गरेका उदाहरणहरू बढ्दै गएका छन्। कतिपय अवस्थामा परिवार टुटिरहेका छन्, वैवाहिक सम्बन्ध बिग्रिरहेका छन्,मानिसहरू डिप्रेसनमा गइरहेका छन्,र आत्महत्यासम्मका घटनाहरू सार्वजनिक भइरहेका छन्।

सामाजिक सञ्जाल र युवापुस्तामा बढ्दो विकृति आज सामाजिक सञ्जालमा “भाइरल” बन्ने होड छ। लाइक, कमेन्ट र फलोअरको प्रतिस्पर्धाले युवाहरूलाई मानसिक दबाबमा राखिरहेको छ। टिकटक, रिल्स र छोटा भिडियो प्लेटफर्ममार्फत अश्लीलता, भड्किलोपन, अपशब्द र विकृत प्रस्तुति बढ्दै गएको भन्दै अभिभावक तथा समाज चिन्तित देखिन्छ। धेरै किशोर–किशोरी वास्तविक जीवनभन्दा सामाजिक सञ्जालको दुनियाँमा बढी रमाउन थालेका छन्। अरूको देखावटी जीवनशैली देखेर आफूलाई कमजोर ठान्ने प्रवृत्ति बढेको छ। क्षणिक लोकप्रियताका लागि जोखिमपूर्ण गतिविधि गर्ने,गलत सम्बन्धमा फस्ने, अनलाइन ठगी र दुर्व्यवहारमा संलग्न हुने घटनाहरू पनि बढिरहेका छन्। बढ्दो साइबर अपराध र प्रहरीमा दर्ता उजुरी सामाजिक सञ्जालको दुरुपयोगसँगै नेपालमा साइबर अपराध तीव्र रूपमा बढिरहेको छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालसँग सम्बन्धित उजुरी उल्लेख्य रूपमा बढेका छन्। आर्थिक वर्ष २०७९/०८० मा करिब ९ हजार साइबर अपराधसम्बन्धी उजुरी दर्ता भएका थिए भने २०८०/०८१ मा त्यो संख्या बढेर करिब १९ हजार पुगेको उल्लेख गरिएको छ।
त्यस्तै २०८१ साल साउन यता मात्रै १५ हजारभन्दा बढी साइबर अपराधसम्बन्धी उजुरी दर्ता भएको सार्वजनिक तथ्यांकमा देखिन्छ ।
यी उजुरीहरूमा मुख्यतःःफेक आइडी महिलामाथिको डिजिटल हिंसा निजी फोटो तथा भिडियो दुरुपयोग ब्ल्याकमेल अनलाइन ठगी ह्याकिङ चरित्र हत्या गोपनीयता उल्लंघन जस्ता घटनाहरू रहेका छन्।
जिल्लास्तरमा पनि साइबर अपराध बढ्दो क्रममा रहेको प्रहरी तथ्यांकले देखाएको छ। विशेषगरी महिलाहरू, किशोरीहरू र युवापुस्ता यसको बढी सिकार भइरहेका छन्। मानव अधिकार र कानुनी चुनौती प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्ने अधिकार छ। कसैको भावना, गोपनीयता र प्रतिष्ठामाथि खेलबाड गर्नु मानव अधिकारको उल्लंघन हो। तर अहिले सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको नाममा अपमान, घृणा, चरित्र हत्या र मानसिक हिंसा बढिरहेको छ। नेपालको विद्युतीय कारोबार ऐन, २०६३ अनुसार साइबर अपराध कानुनी रूपमा दण्डनीय छ। सामाजिक सञ्जालमार्फत हुने धम्की, गोपनीयता उल्लंघन, अश्लील सामग्री प्रसारण, ब्ल्याकमेल वा डिजिटल हिंसामा कानुनी कारबाही हुन सक्छ।
पीडित व्यक्तिले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिन सक्छन्। महिला हिंसा वा मानव अधिकार उल्लंघनका घटनामा राष्ट्रिय महिला आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगमा पनि गुनासो गर्न सकिन्छ। समस्या सामाजिक सञ्जाल मात्र होइन, सम्बन्धको कमजोरी पनि हो सामाजिक सञ्जाल आफैंमा खराब होइन।
गलत प्रयोग समस्या हो। तर गहिरो रूपमा हेर्ने हो भने अहिलेको संकट केवल मोबाइलको होइन, सम्बन्धको संकट हो। घरभित्र आत्मीयता हराउँदै जाँदा मानिसहरू बाहिर सहानुभूति खोज्न बाध्य भइरहेका छन्। यदि समयमै कसैले
“तिमी ठीक छौ?”“आज किन उदास छौ?”“म तिम्रो कुरा सुन्छु…” भनेर सोधिदिएको भए सायद धेरै सम्बन्ध टुट्ने थिएनन्। यदि परिवारभित्र प्रेम, संवाद र सम्मान बलियो भएको भए सायद धेरै महिलाहरू भावनात्मक रूपमा गलत सम्बन्धमा फस्ने थिएनन्।
धेरै मानिसहरू मानसिक रूपमा एक्लिने थिएनन्। धेरै दुर्घटनाहरू हुने थिएनन्।

अब के गर्ने? समाधान सामाजिक सञ्जाल बन्द गर्नु मात्र होइन। समाधान सम्बन्ध बचाउनु हो। परिवारभित्र फेरि संवाद फर्काउनुपर्छ। “खाना खायौ?” भन्ने संस्कार फर्काउनुपर्छ। श्रीमान श्रीमतीबीच विश्वास र समय बढाउनुपर्छ। बालबालिकाको मन बुझ्नुपर्छ। कामका कारण टाढा भए पनि भावनात्मक रूपमा नजिक रहन सिक्नुपर्छ। विद्यालयमा डिजिटल साक्षरतासँगै भावनात्मक शिक्षा आवश्यक छ। राज्यले साइबर अपराध नियन्त्रण कडा बनाउनुपर्छ। मानव अधिकार आयोग, महिला आयोग, प्रहरी प्रशासन र सञ्चारमाध्यमले संयुक्त रूपमा डिजिटल सचेतना अभियान सञ्चालन गर्नुपर्छ।
निष्कर्ष
आज प्रविधिले संसारलाई नजिक ल्याएको छ, तर मनहरूलाई टाढा बनाइरहेको छ।
मानिसहरू सामाजिक सञ्जालमा धेरै देखिन्छन्, तर आफ्नै जीवनमा एक्लिँदै गएका छन्। कसैले समयमै “खाना खायौ?” भनेर सोधिदिएको भए सायद धेरै आँखा रुनु पर्ने थिएन। कसैले “तिमी महत्त्वपूर्ण छौ” भनेर महसुस गराएको भए सायद धेरै सम्बन्ध टुट्ने थिएनन्। कसैले “म तिम्रो कुरा सुन्छु” भनेर साथ दिएको भए सायद धेरै मानिस गलत बाटोमा फस्ने थिएनन्।
अन्ततः मानिसलाई बाँधेर राख्ने कुरा मोबाइल होइन —माया हो। संवाद हो। आत्मीयता हो। सम्मान हो। यदि परिवारभित्र प्रेम, विश्वास र भावनात्मक सम्बन्ध बलियो बनाउन सकियो भने सामाजिक सञ्जालले निम्त्याएका धेरै सामाजिक तथा लैङ्गिक विकृतिबाट समाजलाई बचाउन सकिन्छ।