रामपुर, असार ९ – रामपुर नगरपालिका–७ निवासी भगवती पाठकको परिवार लामो समयदेखि पीडा, अभाव र संघर्षबीच जीवन बिताइरहेको छ। परिवारका सदस्यहरू एकपछि अर्को स्वास्थ्य समस्याबाट ग्रसित भएपछि सम्पूर्ण जिम्मेवारी भगवतीकै काँधमा आएको छ।
भगवतीका जेठा छोरा लालप्रसाद पाठक (जन्म २०४१ साल) करिब १० वर्षअघि मजदुरी गर्ने क्रममा छतबाट खसेर गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनको कम्मरमुनिको भाग पूर्ण रूपमा नचल्ने भएको छ। हाल उनी ओछ्यानमै सीमित छन् र दैनिक जीवनका अधिकांश कामका लागि अरूकै सहारामा निर्भर छन्।
त्यस्तै माइला छोरा यादव पाठक (जन्म २०४७ साल) जन्मजात अशक्त छन्। उनी जन्मेदेखि नै उठ्न, हिँड्न तथा आफ्ना दैनिक क्रियाकलाप आफैं गर्न असमर्थ छन्। उनी पनि निरन्तर हेरचाहको आवश्यकता पर्ने अवस्थामा छन्।
परिवारको अर्को पीडा भनेका भगवतीका श्रीमान् यमप्रसाद पाठक हुन्। पछिल्ला दुई वर्षदेखि दृष्टि गुमाएपछि उनी पनि अरूकै सहारामा जीवन बिताइरहेका छन्। अशक्त दुई छोरा र दृष्टिविहीन श्रीमानको हेरचाह गर्दै भगवतीले घरमा रहेका दुई वटा भैँसीको सहारामा परिवार धान्दै आएकी छन्। परिवारका एक छोरा वैदेशिक रोजगारीमा रहेका छन् भने बुहारी पनि विदेशमा छिन्। घरमा पाँच वर्षीय नातिको जिम्मेवारीसमेत भगवतीकै काँधमा छ।
यसैबीच भगवती पाठकको संघर्षपूर्ण जीवनबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार देखेपछि रामपुर नगरपालिका–६ का पूर्व वडाध्यक्ष हुमनाथ न्यौपानेको छोरी गङ्गा न्यौपाने र ज्वाइँ हरि खनालले अस्ट्रेलियाबाट २० हजार रुपैयाँ आर्थिक सहयोग पठाएका छन्।
उनीहरूले पठाएको उक्त सहयोग रकम भगवती पाठकलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो। सहयोगले परिवारको दैनिकीमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।
सहयोग ग्रहण गर्दै भगवती पाठकले आफ्नो दुःख र संघर्षलाई बुझेर सहयोग गर्ने गङ्गा न्यौपाने, हरि खनाल तथा सहयोग अभियानमा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गरिन्। स्थानीयवासीले पनि यस्तो मानवीय सहयोगले समस्यामा परेका परिवारलाई ठूलो हौसला मिल्ने बताएका छन्।


