होम राई मगर
पाल्पा, असार १७ – निस्दी गाउँपालिका, पाल्पाले सामुदायिक विद्यालयमा कार्यरत बालविकास केन्द्रका शिक्षक, विद्यालय लेखापाल तथा विद्यालय सहयोगी (का.स.) को तलबमा १५ प्रतिशत वृद्धि गर्न सिफारिस गरेको छ।
शिक्षा समितिको आज बसेको बैठकले तलब वृद्धि गर्ने सिफारिस गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक मेख बहादुर सुनारीले जानकारी दिनुभयो। उहाँका अनुसार शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिको मनोबल उच्च बनाउने तथा उनीहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त सिफारिस गरिएको हो।
शिक्षा संयोजक कविता पोखरेलका अनुसार सिफारिस कार्यान्वयन भएपछि विद्यालय लेखापालको मासिक तलब रु. २१ हजार, बालविकास केन्द्र शिक्षकको रु. १९ हजार ९ सय तथा विद्यालय सहयोगीको तलब विद्यालय तहअनुसार प्राथमिकमा रु. १७ हजार ८ सय ५०, निम्न माध्यमिकमा रु. १८ हजार १ सय र माध्यमिक विद्यालयमा रु. १८ हजार ५ सय पुग्नेछ।
निस्दी गाउँपालिकामा हाल ५१ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन्। गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षकहरूको पेशागत क्षमता विकास, पाठ्यक्रम प्रवोधीकरण तालिम, सूचना प्रविधिमैत्री शिक्षण, बालमैत्री सिकाइ वातावरण निर्माण तथा विद्यालय सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर सुधारमा समेत निरन्तर लगानी गर्दै आएको छ।
शिक्षा समितिको सिफारिस अब गाउँपालिकाको कार्यपालिका तथा सम्बन्धित निकायबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ। यस निर्णयबाट बालविकास शिक्षक, विद्यालय लेखापाल तथा विद्यालय सहयोगीहरू उत्साहित भएका छन् भने विद्यालयको समग्र शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।


