पाल्पाको रामपुर उद्योग वाणिज्य संघको चौथो अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले बिहीबार सपथ ग्रहणसँगै औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
रामपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा सम्पन्न पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा प्रतिनिधिसभा सदस्य सन्दीप राना प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य मोहनप्रसाद श्रेष्ठ, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समिरमान सिंह, रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष कपिलबहादुर खाँण, संघका सल्लाहकार देवराज ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका नगर सभापति बुद्धिप्रकाश रेग्मी, पूर्व उपाध्यक्ष दुर्गाप्रसाद भट्टराई, निर्वाचन समितिका संयोजक मुरारीप्रसाद काफ्ले लगायतले शुभकामना तथा धारणा राख्नुभएको थियो।
वक्ताहरूले निजी क्षेत्रसँगको सहकार्य, उद्योग–व्यवसायको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन विकास, लगानीमैत्री वातावरण निर्माण तथा कालीगण्डकी क्षेत्रको समग्र विकासमा जोड दिएका थिए।
नवनिर्वाचित अध्यक्ष खिमबहादुर क्षेत्री पुरुषोत्तमले जनप्रतिनिधि, पूर्व पदाधिकारी र सल्लाहकारको सुझावलाई आत्मसात गर्दै उद्योगी–व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय उत्पादन प्रवर्द्धन, हाटबजार सञ्चालन, लगानी सम्मेलन, घरेलु तथा साना उद्योगको विकास र व्यवसायीको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गर्नुभयो।
कार्यक्रममा निर्वाचन समितिका संयोजक मुरारीप्रसाद काफ्लेले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराउनुका साथै प्रमाणपत्र प्रदान गर्नुभएको थियो। सोही अवसरमा प्रतिनिधिसभा सदस्य सन्दीप राना, निर्वाचन समितिका संयोजक मुरारीप्रसाद काफ्ले तथा सदस्यहरू सूर्यप्रसाद घिमिरे र हरि गौतमलाई सम्मान गरिएको थियो।
संघको चौथो अधिवेशनले अध्यक्षमा खिमबहादुर क्षेत्री पुरुषोत्तम, वाणिज्य उपाध्यक्षमा खेमराज गौतम, उद्योग उपाध्यक्षमा विनोद श्रेष्ठसहित ३० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको थियो। नवगठित कार्यसमितिको पहिलो बैठकले वरिष्ठ उपाध्यक्षमा विष्णुबहादुर सारु, महासचिवमा कृतिनाथ श्रेष्ठ, उपमहासचिवमा कृष्णप्रसाद आचार्य, कोषाध्यक्षमा मधुसुदन भट्टराई, सहकोषाध्यक्षमा तारा रेग्मी तथा सदस्यमा दुर्गादेवी राना, गुरुप्रसाद पराजुली र बालकृष्ण पौडेललाई मनोनयन गरेको छ।
निवर्तमान वाणिज्य उपाध्यक्ष विष्णुबहादुर सारुको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव कृतिनाथ श्रेष्ठले गर्नुभएको थियो।







