“मेरो विद्यालय,मेरो दायित्व” कार्यक्रम सम्पन्न

बोली खबर   २०८३-०३-२८

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको ‘मेरो विद्यालय, मेरो दायित्व’ कार्यक्रम अन्तर्गत रामपुरमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ।

सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजनामा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको सहभागितामा रामतुलसी नमुना माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरेको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य सन्दीप रानाको प्रमुख आतिथ्यतामा भएको थियो।

प्रमुख अतिथि रानाले शिक्षा प्रणालीलाई समाज निर्माणको आधार भएको उल्लेख गर्दै व्यवहारिक, संस्कृतिमैत्री र श्रमसँग जोडिएको शिक्षामा जोड दिनुपर्ने बताउनुभयो। शिक्षकको भूमिका समाज निर्माणमा महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकारसँगै समुदायको पनि विद्यालय सुधारमा समान जिम्मेवारी रहने धारणा राख्नुभयो।

लुम्बिनी प्रदेश सभा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले सरकार परिवर्तनसँगै शिक्षा नीति परिवर्तन भइरहँदा शिक्षा क्षेत्रले अपेक्षित गति लिन नसकेको बताउनुभयो। प्रदेश सरकारले सामुदायिक विद्यालयको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र अधिकांश माग पूर्वाधारसँग सम्बन्धित भएकाले सोही अनुसार बजेट विनियोजन भइरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा दमकडा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार अर्यालले  विद्यालयका भवनहरू आकर्षक बने पनि सरसफाइ र व्यवस्थापनमा अझै सुधार आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले सामुदायिक विद्यालयको निर्माण र विकासमा समुदाय र शिक्षकहरूको मुख्य योगदान रहेको बताउँदै विद्यालयबाट उच्च तहमा पुगेका व्यक्तिहरूलाई विद्यालयमा ल्याएर अनुभव आदानप्रदान गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । विद्यालयहरूले मुठीदानमार्फत अक्षय कोष निर्माण गर्ने जस्ता सकारात्मक कार्य गरिरहेको उहाँले बताउनुभयो

दमकडा माध्यमिक विद्यालयका शिक्षक जीवन आचार्यले पाल्पाको शैक्षिक अवस्था, बसाइँसराइ, शिक्षक दरबन्दी तथा विद्यालय सुधारका सम्भावनाबारे प्रस्तुति दिँदै शिक्षकहरू सूचना तथा प्रविधिमैत्री बन्नुपर्ने बताउनुभयो।

बालकृष्ण लम्सालले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राख्नुभयो। दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोगमा जोड दिनुभयो भने बालहित माविका शिक्षक विष्णु थापाले संघीयता कार्यान्वयनपछि विद्यालय अनुगमन कमजोर बनेको बताउनुभयो।

कार्यक्रममा हरिप्रसाद अधिकारी, हरि ज्ञवाली, सुरेश आचार्य, भेषबहादुर अधिकारी, पुनाराम सारु र खेमबहादुर वि.क.ले पनि विद्यालय सुधारसम्बन्धी सुझाव प्रस्तुत गर्नुभएको थियो।

सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरेले पूर्वविद्यार्थी, समुदाय र सरोकारवालालाई विद्यालयसँग जोडेर सामुदायिक विद्यालयको शैक्षिक, आर्थिक तथा पूर्वाधार विकासमा टेवा पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउँदै प्राप्त सुझावका आधारमा आगामी कार्यक्रम तय गरिने जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन कार्यालयका सूचना अधिकारी ऋषिराम पाण्डेले गर्नुभएको थियो।