होम राई मगर
पाल्पा । साउन-२ । पाल्पा जिल्लाका दुई गाउँपालिका जोड्ने ग्रामीण सडक अन्तर्गत सिलुवा–अर्चले–धोबला मोटरबाटो यस वर्ष वर्षायाममा पनि नियमित रूपमा सञ्चालन भइरहेको छ । विगतका वर्षहरूमा बर्सात लाग्नासाथ सडक अवरुद्ध हुने, यात्रु अलपत्र पर्ने र दैनिक जनजीवन प्रभावित हुने अवस्था रहने गरे पनि यस वर्ष भने समाचार तयार पार्दासम्म सवारी आवागमन निरन्तर सञ्चालनमा रहेको छ ।
यो सडकले पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकालाई जोड्दै स्थानीय नागरिकलाई पाल्पाको सदरमुकाम तानसेन, बुटवल तथा जिल्लाको दोस्रो ठूलो व्यापारिक तथा प्रशासनिक केन्द्र रामपुरसम्म पुग्न सहज बनाएको छ। निस्दी गाउँपालिका–६ अर्चले र धोबलाबाट दैनिक बस तथा जीप सञ्चालन भइरहेका छन्, जसले विद्यार्थी, बिरामी, किसान र सर्वसाधारणलाई ठूलो राहत दिएको स्थानीयहरू बताउँछन् ।
यद्यपि सडकका गसुवा, सिसिङ्गा, मजम्दी लगायतका केही स्थान अझै जोखिमपूर्ण छन् ।
वर्षाका कारण बिग्रिएका ती खण्डमा स्थानीय जनप्रतिनिधि, युवा र सडक प्रयोगकर्ताको सक्रियतामा तत्काल मर्मत गरिएकाले सवारी सञ्चालन रोकिएको छैन ।
जीप व्यवसायी तथा चालक श्याम बहादुर मश्राङ्गी भन्छन्, “गसुवा, सिसिङ्गा र मजम्दी क्षेत्रमा अझै केही अप्ठ्यारो छ । तर विगतका वर्षको तुलनामा अवस्था धेरै सहज छ । समयमै सामान्य मर्मत भएकाले यात्रु बोक्न सहज भएको छ ।”
यस वर्ष संघीय र प्रदेश सरकारबाट उक्त सडकका लागि कुनै बजेट विनियोजन नभएको स्थानीयवासीको गुनासो छ । सडकको दीर्घकालीन स्तरोन्नतिका लागि पटक–पटक माग गरिए पनि सम्बोधन नभएकाले नागरिकहरू निराश बनेका छन् ।
प्रदेश सांसद राजु प्रसाद श्रेष्ठ ले आफूले सडकका लागि बजेट प्रस्ताव गरे पनि सरकारको प्राथमिकतामा नपरेको बताउँदै दुःख व्यक्त गरेका छन् । उनका अनुसार, “यो सडक स्थानीय जनताको जीवनसँग प्रत्यक्ष जोडिएको भए पनि यस वर्ष बजेट विनियोजन हुन सकेन । आगामी दिनमा यसलाई प्राथमिकतामा राख्ने प्रयास रहनेछ ।”
निस्दी गाउँपालिका–६ का वडा अध्यक्ष मेख बहादुर सुनारी का अनुसार वडा कार्यालयले आफ्नो सीमित स्रोतबाट सडक सुधार तथा स्तरोन्नतिका लागि ११ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । उनले भने, “ठूला सरकारबाट बजेट नआए पनि वडा स्तरबाट सकेसम्म सडक सञ्चालनमा समस्या नहोस् भनेर आवश्यक मर्मत र सुधारका काम गरिरहेका छौं ।” साथै उक्त बाटोको मर्मत संभार अर्थात सडक थप क्षति हुन नदिनको लागि लेन्थमेन परिचालन गर्ने जानकारी गरेका छन् । संघीय सरकारबाट आ . ब २०८२/०८३ मा १ करोड बजेट विनियोजन भएको र सर्वे / इस्टेमेट समेत भैइ टेन्डरको प्रक्रियामा रहेको आयोजना एकाएक भाद्र २३ र २४ गते जेन्जी मुभमेन्ट पस्चात बनेको सरकार ले बजेट कटौती गर्दा उक्त ठाउँमा सडक स्तरोन्नति हुन नसकेको वडा अध्यक्ष सुनारीको गुनासो रहेको छ ।
स्थानीय बासिन्दा भन्छन्, सडक केवल यात्रा गर्ने माध्यम मात्र होइन, ग्रामीण अर्थतन्त्रको मेरुदण्ड हो । यही बाटोबाट कृषि उत्पादन बजार पुग्छ, विद्यार्थी विद्यालय र कलेज पुग्छन्, बिरामी उपचारका लागि अस्पताल पुग्छन् र अत्यावश्यक सामग्री गाउँ भित्रिन्छ। त्यसैले सडक सञ्चालनमा राख्नु सबै तहका सरकारको साझा जिम्मेवारी हो ।
स्थानीय सरकारको सक्रियताले तत्काल राहत दिएको भए पनि दीर्घकालीन समाधानका लागि संघीय र प्रदेश सरकारको लगानी अपरिहार्य रहेको स्थानीयको भनाइ छ। सामान्य मर्मतले केही समय राहत दिए पनि जोखिमपूर्ण सडकलाई स्तरोन्नति नगरे भविष्यमा फेरि पुरानै समस्या दोहोरिन सक्ने उनीहरूको चिन्ता छ।
स्थानीयको श्रम, जनप्रतिनिधिको सक्रियता र सीमित स्रोतको सदुपयोगका कारण यस वर्ष वर्षायाममा पनि सिलुवा–अर्चले सडक सञ्चालनमा रहनु सकारात्मक उपलब्धि हो । अब यस उपलब्धिलाई दिगो बनाउन तीनै तहका सरकारबीच समन्वय, पर्याप्त बजेट विनियोजन र समयमै स्तरोन्नतिको काम अघि बढाउनु आवश्यक देखिन्छ। ग्रामीण सडकलाई केवल विकासको योजना होइन, नागरिकको आधारभूत अधिकारका रूपमा हेरेर दीर्घकालीन समाधानतर्फ अग्रसर हुनु आजको आवश्यकता हो ।


