
स्याङ्जा, चापाकोट भाद्र-११ !
स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–१० किसानमा रहेको किसान बहुप्राविधिक शिक्षालयमा सीप प्रमाणीकरण प्रमाणपत्र वितरण तथा उद्यमशीलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शिक्षालयको वार्षिक तालिकाअनुसार आयोजित कार्यक्रममा सीपमूलक तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षक, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकारलगायतको उल्लेख्य सहभागिता रहेको थियो।
शिक्षालयका प्रमुख शिव पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चापाकोट नगरपालिकाका नगरप्रमुख देवबहादुर खाँड प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइराला, वडा अध्यक्ष, जनप्रतिनिधि, शिक्षालयका प्रशिक्षक तथा प्रशिक्षार्थी, विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्लाभित्रका मौरीपालन तथा कम्प्युटर ट्रेडिङसम्बन्धी तालिममा सहभागी करिब ५० जना विद्यार्थी तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई आफूले हासिल गरेको सीपलाई व्यवहारमा प्रयोग गर्दै स्वरोजगार तथा उद्यमशीलतामार्फत आयआर्जन गर्ने विषयमा जानकारी तथा अनुभव आदानप्रदान गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक चापाकोट शाखाका शाखा प्रमुख सञ्जय अधिकारीले बैंकिङ सेवा, कृषि तथा उद्यमशीलताबीचको सम्बन्धका साथै आफूले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गरी आम्दानी कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिनुभएको थियो। उहाँले सीप सिकेपछि त्यसलाई व्यवहारमा उतार्न सके मात्र सीपको वास्तविक उपयोग हुने बताउँदै बैंक तथा वित्तीय संस्थाले कृषि र उद्यमशीलताका क्षेत्रमा सहजीकरण गर्न सक्ने विषयमा समेत प्रकाश पार्नुभएको थियो। अन्तरक्रियाका क्रममा सहभागीहरूले आफूले तालिमबाट सिकेका सीप, त्यसलाई प्रयोग गर्दा प्राप्त अनुभव तथा स्थानीय स्तरमा देखिएका सम्भावनाका विषयमा आफ्ना धारणा राखेका थिए। कार्यक्रममा सर्भे तथा त्यसका विभिन्न प्रकार लगायत प्राविधिक विषयमा समेत अनुभव आदानप्रदान गरिएको थियो। प्रशिक्षार्थीहरूले तालिमपछि रोजगारी खोज्ने मात्र नभई आफूले सिकेको सीपका आधारमा उद्यम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चापाकोट नगरपालिकाका नगरप्रमुख देवबहादुर खाँडले किसान बहुप्राविधिक शिक्षालय स्याङ्जाकै गौरवको शिक्षालय भएको बताउनुभयो। भौगोलिक रूपमा चापाकोटको सीमावर्ती क्षेत्रमा रहे पनि शिक्षालयले स्याङ्जा मात्र नभई पाल्पालगायत आसपासका क्षेत्रका नागरिकलाई समेत प्राविधिक तथा सीपमूलक शिक्षा प्रदान गर्दै आएको उहाँको भनाइ थियो। नगरप्रमुख खाँडले शिक्षालयलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै स्थानीय युवालाई सीपसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। शिक्षालय सञ्चालनका लागि विभिन्न छात्रवृत्ति तथा सीपमूलक कार्यक्रम सञ्चालन भए पनि अपेक्षित रूपमा त्यसको परिणाम आउन नसकेको भन्दै उहाँले बैंक, कृषि उद्यमी र स्थानीय सरकारबीच सहकार्य तथा समन्वय बढाउनुपर्नेमा जोड दिनुभयो।
कृषि तथा उद्यमशीलताको विकासका लागि स्थानीय सरकारले कृषकलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै नगरप्रमुख खाँडले विगत वर्षमा भैँसीपालन कार्यक्रमले समेत राम्रो परिणाम दिएको बताउनुभयो। स्थानीय स्रोत, साधन र सम्भावनालाई पहिचान गरी युवालाई व्यावसायिक कृषिसँग जोड्न सके गाउँमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सकिने उहाँको भनाइ थियो।
उहाँले किसान बहुप्राविधिक शिक्षालयलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाउन आफू र नगरपालिका आवश्यक सहयोग तथा सहकार्यका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। जस्तोसुकै परिस्थितिमा पनि शिक्षालयको विकास र विस्तारका लागि साथ दिने उहाँले बताउनुभयो। शिक्षालयका प्रमुख शिव पाण्डेले शिक्षालयले सीपमूलक तथा प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै स्थानीय युवालाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने प्रयास गरिरहेको बताउनुभयो। शिक्षालयबाट विभिन्न विषयमा तालिम तथा प्राविधिक शिक्षा प्रदान हुँदै आएको र तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई निरन्तर प्रोत्साहन गरिँदै आएको उहाँले जानकारी दिनुभयो।
प्रमुख पाण्डेले चापाकोट नगरपालिकाका नगरप्रमुख इश्वर खाँडले शिक्षालयको विकास तथा सञ्चालनमा निरन्तर सहयोग गर्दै आउनुभएको स्मरण गर्दै आगामी दिनमा पनि स्थानीय सरकार, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र शिक्षालयबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। भौगोलिक अवस्थाका कारण चापाकोट क्षेत्रमा रहेको भए पनि किसान बहुप्राविधिक शिक्षालय चापाकोट र रामपुर क्षेत्रकै शैक्षिक तथा प्राविधिक विकासको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको उहाँको भनाइ थियो। शिक्षालयमा प्राप्त हुने प्राविधिक तथा सीपमूलक ज्ञानले स्थानीय युवालाई आफ्नै गाउँठाउँमा उद्यम गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले प्रमाणपत्र प्राप्त गरेसँगै आफूले सिकेको सीपलाई व्यावहारिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सहभागीहरूले यस्ता अन्तरक्रिया तथा अनुभव आदानप्रदानका कार्यक्रमले तालिमपछि व्यवसाय सुरु गर्न आवश्यक ज्ञान, आत्मविश्वास र प्रेरणा प्रदान गर्ने बताएका थिए।
कार्यक्रमले सीप प्रमाणीकरण, प्राविधिक शिक्षा, वित्तीय पहुँच र उद्यमशीलतालाई एकआपसमा जोड्दै स्थानीय स्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने सन्देश दिएको छ। स्थानीय सरकार, प्राविधिक शिक्षालय, बैंक तथा वित्तीय संस्था र कृषि उद्यमीबीच सहकार्य विस्तार गर्न सके चापाकोट तथा आसपासका क्षेत्रमा सीपमा आधारित उद्यमशीलताको थप विकास गर्न सकिने सहभागीहरूको धारणा थियो।


