आई.एम.ई. लाइफ इन्स्योरेन्स रामपुर शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, अभिभावकलाई बीमा सचेतना
पाल्पा, रामपुर । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर, पाल्पा शाखाले आफ्नो स्थापनाको ९औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै अभिभावकहरूलाई बीमा सम्बन्धी सचेतना प्रदान गरेको छ।
वार्षिकोत्सवको अवसरमा पाल्पाको निस्दी गाउँपालिका–५, बेलौजीस्थित श्री लाङघाली प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कम्पनीले स्कुल ब्याग वितरण गरेको हो। साथै, कार्यक्रममा सहभागी विद्यार्थीका अभिभावकहरूलाई बीमाको आवश्यकता, महत्व तथा यसबाट प्राप्त हुने सुरक्षा र सुविधाका विषयमा जानकारी गराउँदै बीमा सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर, पाल्पा शाखाका शाखा प्रमुख तिलक सारु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कम्पनीका एजेन्सी म्यानेजरहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अन्य प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो भने विद्यार्थीका अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बीमाको आवश्यकता, भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिमबाट परिवारलाई सुरक्षित राख्ने उपाय तथा जीवन बीमाले व्यक्तिको आर्थिक सुरक्षामा खेल्ने भूमिकाका बारेमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी शिक्षक तथा अभिभावकहरूले बीमाबारे समाजमा रहेका कतिपय नकारात्मक धारणा र भ्रम हटाउन यस्ता सचेतनामूलक कार्यक्रम महत्वपूर्ण रहेको बताएका थिए। उनीहरूले बीमा केवल आर्थिक लगानी मात्र नभई व्यक्ति तथा परिवारको भविष्यलाई आर्थिक रूपमा सुरक्षित बनाउने माध्यम भएकाले सबैका लागि आवश्यक रहेको महसुस भएको प्रतिक्रिया दिएका थिए।
आई.एम.ई. लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग र अभिभावकलाई बीमा सचेतना प्रदान गर्नुले समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ।





