पाल्पा, रामपुर। रामपुरस्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २८औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाको निर्णय प्रमाणितसहित बुधबार रामपुर नगरपालिका–७, डुम्रिगाउँस्थित केन्द्रीय कार्यालयमा एकाइगत साधारण सभाबाट चयन भएका प्रतिनिधि सदस्यहरूको सहभागितामा सभा सम्पन्न भएको हो।
आर्थिक उतारचढाव र सहकारी क्षेत्रमा देखिएको चुनौतीपूर्ण परिस्थितिका बीच पनि संस्थाले वित्तीय कारोबारमा उल्लेख्य उपलब्धि हासिल गरेको छ। संस्थाले कुल १ अर्ब ६५ करोड ४१ लाख ५३ हजार ६०४ रुपैयाँ पुँजी परिचालन गर्दै २ करोड ७९ लाख २७३ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको बचत सङ्कलन १ अर्ब २६ करोड, ऋण लगानी १ अर्ब ८ करोड र शेयर पुँजी १६ करोड रुपैयाँ पुगेको छ।
सभामा अध्यक्ष खगेन्द्रप्रसाद न्यौपानेले संस्थाको वित्तीय अवस्था र उपलब्धिबारे चर्चा गर्दै अहिले देखिएका आर्थिक समस्या कुनै एक संस्था वा व्यक्तिको कारण मात्र नभई देशकै समग्र अर्थतन्त्रमा आएको शिथिलता र आर्थिक परिस्थितिसँग जोडिएको बताउनुभयो। चुनौतीपूर्ण अवस्थाका बाबजुद संस्थाले सदस्यको विश्वास र सहकार्यका आधारमा कारोबारलाई व्यवस्थित रूपमा अघि बढाएको उहाँको भनाइ थियो।
अध्यक्ष न्यौपानेले एकाइगत साधारण सभाबाट प्राप्त सुझाव तथा पारित निर्णयलाई कार्यान्वयन गर्दै शेयर सदस्यको हितलाई प्राथमिकतामा राखेर संस्था अझ सबल र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्वअध्यक्षहरू सुकदेव पोखरेल, लिलाबहादुर गाहा, नेत्रप्रसाद भट्टराई र भोजेन्द्रप्रकाश ढकालले आर्थिक चुनौतीका बाबजुद संस्थाले कारोबार, पुँजी र मुनाफामा हासिल गरेको उपलब्धिको प्रशंसा गर्नुभयो। उहाँहरूले संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विगतका कमजोरी सुधार्दै पारदर्शिता र सुशासनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो। पूर्वकोषाध्यक्ष देवेन्द्रप्रसाद पोखरेल, पत्रकार इमानसिङ राना र सुनिता रानाले पनि संस्थाको आगामी कार्यदिशा र सुधारका विषयमा सुझाव राख्नुभएको थियो।
पत्रकार, विद्यार्थी र ज्येष्ठ सदस्य सम्मानित
साधारण सभाको अवसरमा संस्थाले पूर्वसञ्चालक समितिका पदाधिकारीहरूलाई दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरेको छ। रामपुर क्षेत्रमा क्रियाशील पत्रकारहरू बन्दना पोखरेल, दुर्गेश मल्ल, शोभाकान्त पाठक, रमादेवी अर्याल भण्डारी, इमानसिङ राना, सीता डोटेल र अर्जुन श्रेष्ठलाई नगद तथा मायाको चिनोसहित सम्मान गरिएको थियो।
त्यसैगरी, उत्कृष्ट कर्मचारीका रूपमा बिन्दु घिमिरे तथा उत्कृष्ट सेवा केन्द्रलाई पुरस्कृत गरिएको छ। शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले एसईई परीक्षामा ४ जीपीए हासिल गर्ने रामतुलसी माध्यमिक विद्यालयका आकृति बाकाबल, विशाल श्रेष्ठ र संगम ढेँगा तथा दरैँठाँटी माध्यमिक विद्यालयका अबिसा भट्टराई र दिव्य भण्डारीलाई नगद र मायाको चिनोसहित सम्मान गरिएको थियो।
संस्थाले विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरूलाई सम्मान गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ मा ७० वर्ष उमेर पूरा गरेका थप ३० जना ज्येष्ठ शेयर सदस्यलाई समेत सम्मान गरेको सचिव मधुसुदन आचार्यले जानकारी दिनुभयो।
वि.सं. २०५५ सालमा स्थापना भएको अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले आफ्नो कार्यक्षेत्र पाल्पा जिल्लाभर विस्तार गरेको छ। २०८३ असार मसान्तसम्म संस्थामा ११ हजार ८४७ जना शेयर सदस्य आबद्ध रहेका छन्।
संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुरेश आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव मधुसुदन आचार्यले गर्नुभएको थियो।


