ज्योतिपुन्ज युवा क्लब द्धारा खर्च सार्वजनिक

  २०८३-०८-१४

ज्योतिपुंज युवा क्लबद्वारा चौथो ज्योतिपुंज कपको ३४ लाख १० हजार बढीको आम्दानी–खर्च सार्वजनिक

पाल्पा, रामपुर ।

रामपुर नगरपालिका–७, पाल्पास्थित ज्योतिपुंज युवा क्लबले आयोजना गरेको चौथो ज्योतिपुंज कपको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको छ। क्लबले प्रतियोगितामा कुल ३४ लाख १० हजार ८ सय ७४ रुपैयाँ बराबरको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो।

क्लबका अध्यक्ष सुन्दर राणाको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने भावनालाई आत्मसात् गर्दै युवाहरूलाई खेलकुदमा जोड्नु आवश्यक रहेको बताउनुभयो। उहाँले ज्योतिपुंज युवा क्लबले ठूलो स्तरको खेलकुद प्रतियोगिता आयोजना गरेर खेल क्षेत्रको विकाससँगै रामपुरको पहिचान राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रशंसा गर्नुभयो। यस्ता प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्नुका साथै युवाहरूमा अनुशासन, एकता र सहकार्यको भावना विकास गर्ने उहाँको भनाइ थियो। खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धन, स्थानीय आर्थिक गतिविधि र सामाजिक एकताको माध्यमका रूपमा समेत अघि बढाउनुपर्ने उहाँले बताउनुभयो।

आम्दानी विवरण

क्लबले सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताका लागि रामपुर नगरपालिकाबाट ३ लाख रुपैयाँ, काजुमासा काकिमि (ओके बाजे) बाट ३ लाख रुपैयाँ, CG Wai Wai बाट ९ लाख रुपैयाँ र रामपुर नगरपालिका वडा नं. ७ को कार्यालयबाट २५ हजार रुपैयाँ आम्दानी भएको छ।

यसैगरी विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट प्राप्त सहयोग, VIP टिकट बिक्री, साधारण टिकट बिक्री र प्रदेश खेलकुद परिषद्, लुम्बिनीबाट प्राप्त सहयोगलाई समेत आम्दानीका स्रोतका रूपमा समावेश गरिएको छ।

खर्च विवरण

प्रतियोगिताका क्रममा क्लबले विभिन्न २२ वटा शीर्षकमा खर्च गरेको विवरण सार्वजनिक गरेको छ। जसअन्तर्गत बाजागाजा, टिम व्यवस्थापन, प्याराफिट, सांस्कृतिक कार्यक्रम, सुरक्षा गार्ड भत्ता, रेफ्री भत्ता, गोल नेपाल लाइभ फोटो तथा ड्रोन भिडियो, पुरस्कार व्यवस्थापन, टिकट व्यवस्थापन कर्मचारी तथा एम्बुलेन्स चालक भत्ता, खेलकुद सामग्री खरिद, स्टेसनरी, विज्ञापन तथा प्रचारप्रसार, ग्राउन्ड मर्मत तथा निर्माण, खानेपानी, खाना, नास्ता तथा होटल खर्च रहेका छन्।

त्यसैगरी साउन्ड सिस्टम तथा टेन्ट, डिजिटल मिडिया स्क्रिन, अतिथि सत्कार, माला तथा खादा खरिद, लेखाइ तथा छपाइ, कप, मेडल, मायाको चिनो तथा डिजाइन, इन्धन (डिजेल तथा पेट्रोल), गाडी भाडा तथा ढुवानी र विविध शीर्षकमा समेत खर्च भएको क्लबले जनाएको छ।

कार्यक्रममा प्रतियोगिताका विभिन्न खेल विधामा सहयोग पुर्‍याउने संघसंस्था, सहयोगी व्यक्ति, आयोजकलाई साथ दिने विभिन्न संस्था तथा सञ्चारकर्मीहरूलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

क्लबले प्रतियोगिता सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगदाता, प्रायोजक, संघसंस्था, खेलप्रेमी, सञ्चारकर्मी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ। आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्नुले संस्थागत पारदर्शिता र जवाफदेहितालाई थप बलियो बनाउने विश्वाससमेत क्लबले व्यक्त गरेको छ।