पाल्पाका ७ सामुदायिक वनलाई दश वर्षे कार्ययोजना हस्तान्तरण

  २०८३-०८-१४

पाल्पा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ पाल्पाले रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका ७ वटा सामुदायिक वन उपभोक्ता समूहलाई दश वर्षे कार्ययोजना हस्तान्तरण गरेको छ। सामुदायिक वनको दिगो संरक्षण, व्यवस्थापन तथा उपभोक्ताको आवश्यकताअनुसार वन पैदावारको उपयोग सहज बनाउने उद्देश्यले कार्ययोजना निर्माण गरिएको हो।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजित अन्तरक्रिया कार्यक्रमसँगै कार्ययोजना हस्तान्तरण गरिएको हो।

जिल्ला महासंघ पाल्पाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले सामुदायिक वन संरक्षणमा उपभोक्ताको महत्वपूर्ण भूमिका रहे पनि नीतिगत तथा कानुनी जटिलताका कारण वन पैदावारको उपयोगमा समस्या रहेको बताउनुभयो। बाँझो जमिनको सदुपयोग गर्दै काठजन्य बिरुवासँगै फलफूल तथा वन्यजन्तुको आहार हुने बिरुवा पनि रोप्नुपर्ने उहाँको भनाइ थियो। कार्ययोजनाले वन व्यवस्थापनमा स्थानीय तह र उपभोक्ताबीच सहकार्य सहज बनाउने उहाँले बताउनुभयो।

निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले सामुदायिक वन उपभोक्ता महासंघले वन संरक्षणसँगै सामाजिक रूपान्तरणमा पनि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले वन ऐनलाई उपभोक्ताको हितअनुकूल बनाउनुपर्ने र लैङ्गिक हिंसा तथा बालविवाह अन्त्यका लागि सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

रामपुर सबडिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत पंकजकुमार ठाकुरले स्वीकृत कार्ययोजनाअनुसार वन संरक्षण तथा व्यवस्थापनका गतिविधि सञ्चालन गर्न उपभोक्ता समूहलाई आग्रह गर्नुभयो।

कार्यक्रममा निस्दी गाउँपालिका–५ का वडा अध्यक्ष दुर्गाबहादुर सोमै, रामपुर नगरपालिका–८ का वडा अध्यक्ष दिनेश आचार्य, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेल, सामुदायिक वन उपभोक्ता महासंघका सदस्य इश्वरी खनाल तथा राम्चे सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद बस्याललगायतले धारणा राख्नुभएको थियो। सहभागीहरूले वन संरक्षणलाई उपभोक्ताको जीविकोपार्जनसँग जोड्नुपर्ने र लैङ्गिक हिंसा अन्त्यका लागि घरपरिवारदेखि राज्यका निकायसम्म सक्रिय हुनुपर्ने बताएका थिए।

महासंघका जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जिल्लाका १० वटा सामुदायिक वनको कार्ययोजना निर्माण गरिएको र त्यसमध्ये ७ वटालाई कार्यक्रममा हस्तान्तरण गरिएको जानकारी दिनुभयो।

गंगा माध्यमिक विद्यालय, एक्लेटारको सभाहलमा भएको कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ रामपुरका अध्यक्ष विन्दु श्रेष्ठको स्वागत र जिल्ला महासंघ पाल्पाका सचिव लक्ष्मी ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो।