रामपुर, पाल्पा । रामपुर नगरपालिका–८, झेरूछापमा टोलस्तरीय घुम्ती शिविर सम्पन्न भएको छ। स्थानीय नागरिकलाई घरदैलोमै विभिन्न सरकारी तथा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा सामाजिक सुरक्षा, कृषि तथा पशु स्वास्थ्य र स्वास्थ्य परीक्षणसम्बन्धी सेवा प्रदान गरिएको हो।
शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ४२ जना लाभग्राहीको बायोमेट्रिक नवीकरण गरिएको छ। त्यस्तै, ५६ जना कृषकका ५७ वटा भैंसीका पाडा, ४०१ वटा बाख्रा र १६ वटा बंगुरलाई जुका, माटे तथा उपियाँको औषधि वितरण गरिएको छ।
यसैगरी, शिविरमा ५८ जना ज्येष्ठ नागरिक तथा टोलवासीको स्वास्थ्य परीक्षण तथा उपचार गर्नुका साथै आवश्यक औषधिसमेत वितरण गरिएको छ।
शिविरबाट स्थानीय नागरिकले आफ्नै टोलमा विभिन्न सेवा प्राप्त गर्न सहज भएको बताएका छन्। कार्यक्रमका सम्बन्धमा वडा सचिव वासुदेव ढकालले जानकारी दिनुभएको हो।





