होम राई मगर
पाल्पा । निस्दी गाउँपालिका–६, अर्चलेस्थित श्री सिन्दुर आधारभूत विद्यालयमा सम्पन्न अभिभावक भेलाले खुमी सरा ठाडा सुनारीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ।
भेलाबाट समितिको सदस्यमा मन बहादुर सुनार, तिल कुमारी सुनारी र मनिषा खण्डलु चयन हुनुभएको छ। त्यसैगरी वडा प्रतिनिधिका रूपमा वडा सदस्य तथा गाउँ कार्यपालिका सदस्य मिम्श्री बयम्बु, शिक्षक प्रतिनिधिमा जोग बहादुर बयम्बु र सदस्य–सचिवमा विद्यालयका प्रधानाध्यापक होम बहादुर राई चयन हुनुभएको छ।
त्यस्तै, भेलाले हेम कुमारी सारुको अध्यक्षतामा ९ सदस्यीय शिक्षक–अभिभावक संघ समेत गठन गरेको छ।
कार्यक्रममा विद्यालयका संस्थापक विव्यस सदस्य दिल बहादुर मश्राङ्गी, पूर्व अध्यक्षहरू खेम बहादुर बिक र कृष्ण बहादुर सुनारीलगायतले विद्यालयको शैक्षिक गुणस्तर, अभिभावकको भूमिका तथा विद्यालयको समग्र विकासका विषयमा धारणा राख्नुभएको थियो। वडा सदस्य तथा गाउँ कार्यपालिका सदस्य मिम्श्री बयम्बुले पनि विद्यालयको विकासका लागि स्थानीय सरकार, शिक्षक र अभिभावकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
भेलामा विद्यालयका शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नवगठित विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।



