पाल्पामा घटेको घरेलु हिंसा, निधन र बालीकाहरुको अबस्था

  २०८३-०६-०८

रामपुर, पाल्पा
पछिल्लो समय पाल्पा जिल्लामा घरेलु हिंसाको घटना निकै वढेको पाईन्छ । त्यस वाट रामपुर नगरपालिका पनि अछुतो रहन सकेको छैन । गत महिना मात्र भदौ २८ गते रामपुर नगरपालिका वडा नम्वर ६ घर्ति भुजेलको परिवारमा घटेको घटनाले निकै दुखित वनाएको छ । उक्त दिन नेपाली नारीहरुको माहान चाड हरीतालिका तीजको दर खाने दिन थियो । परम्परा अनुशार गाउँघरमा चेलीबेटीहरू दर खाएर नाचगान गरिरहेका थिए भने कतिपय माइती आएका दिदीबहिनीका समूहमा तीजका गीतमा रमाईरहेका थिए । अधिकांशका घरमा चाडपर्वको रौनक छाईरहेको थियो । तर त्यसै दिन रामपुर नगरपालिका–६ नेपानटारीको एउटा घरमा भने गीत पनि वजेन, न दर पाक्यो, नत चेलीबेटीनै रमाए ।
त्यस दिन ३७ वर्षीया दिलमाया घर्ती भने गम्भीर घाइते भएर छट्पटाइरहेकी थिईन । घरमा रहेका उनका साना साना छोरीहरू आमाको कहालीलाग्दो अवस्था देखेर रोइरहेका थिए । यसपाली उनीहरूका लागि तीज खुसीको पर्व बन्न सकेन । तिजको दर खाने दिन घटेको त्यो अकल्पनिय तथा हृदयविदारक घटनाको केही दिनपछि ती अवोध बालिकाहरुले आफ्नी आमालाई सदाका लागि गुमाए ।

दर खाने दिन भदौ २८ गते साँझ पति ३३ वर्षीय केशरबहादुर घर्तीले मदिरा सेवन गरि श्रीमति दिलमाया माथि निर्घात कुटपिट गरेको र उनको कुटपिटबाट दिलमायाको टाउकोमा गम्भीर चोट लागेको थियो । श्रीमानको निर्घात कुटपिट बाट टाउकोमा गम्भिर चोट लागेकी दिलमायाको उपचारका क्रममा मृत्यु वरण भए सँगै अन्ततः उनको इहलिलानै समाप्त भयो ।
दिलमायाको मृत्युले परिवारको एउटा सदस्य मात्र गुमेन, पाँच छोरीको भविष्यबाट आमाको न्यानो माया, संरक्षण र भरोसा एकैपटक खोसियो । जसको कारण अहिले परिवार लथालिङ हुन पुग्यो भने परिवारको आर्थिक अवस्था कमजोर वन्न थाल्यो । दिलमामायको मृत्यु पश्चात परिवारमा उनको उपचारका क्रममा लागेको ऋण समेत थपियो । आमाको मृत्यु पछि बाबु प्रहरी हिरासतमा छन् , अहिले आमाको हत्या आरोपमा वुवा प्रहरी हिरासतमा पुगेपछि ति पाँच जना अवोध बालिकाहरुको भविष्य झन् अन्योलमा परेको छ ।
‘आमा बोल्न सक्ने अवस्थामा पनि हुनुहुन्नथ्यो’

कुटपिट पछि भोलिपल्ट भदौ २९ गते गम्भिर घाइते भएकी दिलमायालाई परिवारका सदस्य र पति केशर बहादुरले रामपुर अस्पताल पुर्‍याएका थिए । टाउकोमा गम्भीर चोट लागेकाले उनको रामपुर अस्पतालमा उपचार सम्भव नहुने भएपछि रामपुर अस्पतालले उनलाई थप उपचारका लागी लुम्बिनी मेडिकल कलेज रेफर गर्‍यो ।
तर आर्थिक अवस्था कम्जोर भएका केशर बहादुरले दिलमायालाई तत्काल लुम्बिनी मेडिकल कलेज नलगेर घरमै लगे । उपचारका लागि आवश्यक रकमको अभाव परिवारका लागि अर्को ठूलो समस्या थियो । अन्ततः ऋण गरेरै भएपनि गाडीभाडाको व्यवस्था गर्दै भदौ ३१ गते दिलमायालाई तानसेन स्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको थियो । जेठी छोरी निरु घर्तीका अनुसार त्यतिबेला सम्म दिलमायाको अवस्था निकै गम्भीर भइसकेको थियो ।
मिसन अस्पतालमा पनि उपचार सम्भव नहुने भएपछि चिकित्सकले थप उपचारका लागि काठमाडौं लैजान सल्लाह दिएका थिए, तर काठमान्डौ लैजानका लागी खर्च नभएको र आर्थिक अवस्था निकै कमजोर भएका कारण ऋण खोज्दाखोज्दै काठमाडौं लैजानु अघि नै मिसन अस्पताल तानसेनमा आमाको मृत्यु भएको छोरी निरुले बताइन । अन्तत : अशोज २ गते नै उनको शव पाल्पा अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कार गरिएको थियो ।

‘समयमै उपचार भएको भए आमा बच्नुहुन्थ्यो कि’
१९ वर्षीया निरु घर्ती अहिले आफ्‌नो परम्परा अनुशार आमाको किरियामा बसेकि छन् । आमाको मृत्युको शोकसँगै उनका अगाडि चार बहिनीको जिम्मेवारी समेत थपिएको आएको छ । निरुले कक्षा ८ सम्म पढेपछि पढाइ छोडेर पोखरा गएर सानोतिनो काम गर्दै आएकि छन् । घटना हुँदा निरु पोखरामै थिइन । आमामाथि कुटपिट भएको खबर पाएपछि उनी घर आइन । तर अस्पताल पुग्दासम्म आमाको अवस्था गम्भीर भइसकेको थियो । “समयमै उपचार भएको भए आमा बाँच्नुहुन्थ्यो कि भन्ने लाग्छ ।” उनी भन्छीन “पैसा नभएकै कारण उपचारमा समस्या भयो ।” आमाको मृत्यु हुनु र बाबु प्रहरी हिरासतमा भएपछि आफूहरूलाई झन् ठूलो समस्या परेको उनले बताएकी छिन् । “आमा हुनुहुन्न, बाबु प्रहरी हिरासतमा हुनुहुन्छ । हामीलाई हेर्ने र हाम्रो कुरा सुन्ने कोही छैन,” निरु भन्छिन “अप्ठ्यारो परेको बेला भेट्न आउने पनि धेरै भएनन् ।” आमाको किरिया बसेकी निरुको मनमा अहिले एउटा प्रश्न बारम्बार आउँछ–अब आफ्ना बहिनीहरूको भविष्य कसरी वनाउने ?

एउटी बहिनी कक्षा ८ मा, अर्की ११ महिनाकी
दिलमायाका पाँच छोरी मध्ये जेठी निरु १९ वर्षकी छिन । माहिली छोरी १३ वर्षीया मनिका कक्षा ८ मा, १० वर्षीया आशिकाले कक्षा ५ मा, सात वर्षीया सृजना कक्षा २ मा पढ्छिन भने सबैभन्दा कान्छी अस्मिता ११ महिनाकी मात्र छिन् ।

आमाको काखमा हुर्किनुपर्ने उमेरमा अस्मिताले आमालाई गुमाएकी छन् । उनलाई आमाको अनुहार र ममता सम्झिने उमेर पनि आएको छैन । तर त्यस परिवारका लागि उनी, अहिले सबैभन्दा बढी संरक्षण आवश्यक पर्ने बालिका बनेकी छन् ।

मनिका, आशिका र सृजनाका लागि आगामी दिनमा विद्यालय निरन्तरता पनि निकै चुनौती बनेको छ । विद्यालय जाने उमेरका यी बालिकाले आफ्‌नो अध्ययनलाई निरन्तरता दिन सक्छन् कि सक्दैनन् भन्ने कुरा प्रश्न उनीहरूको आर्थिक अवस्थासँग जोडिएको छ । आमाको मृत्यु पश्चात परिवारको नियमित आम्दानी बन्द भएको छ । उनिहरुका बाबु हिरासतमा छन् । परिवारकी सवैभन्दा ठुली जेठी छोरी आफैं पनि आर्थिक रूपमा आत्मनिर्भर छैनन् । निरुकी हजुरआमा धन मायाको उमेर पनि ६० वर्ष पुगेको छ ।

अर्काको भैँसी फार्ममा काम गरेर चलेको थियो घर
दिलमाया र केशरबहादुर अर्काको भैँसी फार्ममा मजदुरको रुपमा काम गर्थे । मजदुरको रुपमा काम गरे वापत पाउने ज्यालाबाटै उनिहरुले परिवारको दैनिक गुजारा चलाउने गरेका थिए चल्ने गरेको थियो । उनिहरुको आम्दानी पर्याप्त ठूलो थिएन । तर त्यही सामान्य आम्दानी पनि आम्दानी पाँच छोरीको खाना, लत्ताकपडा, विद्यालय र घरखर्चका लागि आधार बनेको थियो ।

दिलमायाको उपचारका क्रममा भएको खर्चसमेत अहिले परिवारका लागि ऋण बनेको छ । रामपुरबाट तानसेनसम्म लाँदा ल्याउँदा लागेको गाडीभाडा पनि ऋण गरेर जुटाउनुपरेको परिवारले जनाएको छ । आमाको किरिया, दाहसंस्कार र अन्य संस्कारका बीच पाँच छोरीको दैनिक जीवन झन् कठिन वन्दै गएको छ ।
खाद्यान्नले मात्रै समाधान हुँदैन समस्या
दिलमायाको मृत्यु भएपछि रामपुरका स्थानिय केही व्यक्ति तथा संस्थाले परिवारलाई खाद्यान्न लगायत सहयोग गरेका छन् । संकटको समयमा प्राप्त भएको यस्तो सहयोगले तत्कालको आवश्यकता केही हदसम्म भएपनि पूरा गरेको त छ । तर अव पाँच बालिकाको भविष्यका लागि खाद्यान्न सहयोग ले मात्र पर्याप्त हुँदैन ।

आगामी दिनमा उनीहरूको विद्यालय शिक्षा निरन्तरता, स्वास्थ्य उपचार, पोषण, सुरक्षित आवास, मनोसामाजिक सहयोग र संरक्षणको व्यवस्था आवश्यक भएको र विशेषगरी ११ महिनाकी अस्मिताको पालनपोषण र स्वास्थ्य सुरक्षामा विशेष ध्यान आवश्यक देखिन्छ ।
बाबु प्रहरी हिरासतमा, अनुसन्धान जारी

जेठी छोरी निरुले बाबुविरुद्ध प्रहरीमा उजुरी दिएपछि केशरबहादुर प्रहरी हिरासतमा छन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ भने कानुनी प्रक्रियाले घटनाको वास्तविकता निर्धारण गर्नेछ । त्यसअघि आरोपलाई अन्तिम निष्कर्षका रूपमा प्रस्तुत गर्न त मिल्दैन तर घटनापछि पाँच बालिकाको भविष्य र संरक्षणको प्रश्न तत्काल सम्बोधन गर्नुपर्ने अवस्थाभने स्पष्ट देखिन्छ ।
घरेलु हिंसाका घटनामा पीडित महिला र बालबालिकाको सुरक्षा तथा संरक्षण निकै महत्वपूर्ण विषय हो । हिंसाका कारण परिवारका बालबालिकामा पर्ने सामाजिक, मनोवैज्ञानिक र आर्थिक प्रभाव लामो समयसम्म रहन सक्ने भएकाले उनीहरूको अवस्थालाई पनि न्याय प्रक्रियाको एउटा महत्वपूर्ण पाटोका रूपमा हेर्न आवश्यक हुन्छ ।