रामपुर उद्योग वाणिज्य संघको स्थापना दिवस तथा १२औँ वार्षिक साधारण सभा सम्पन्न

  २०८३-०६-२४


असाेज २४
रामपुर, पाल्पा। रामपुर उद्योग वाणिज्य संघ, रामपुर पाल्पाको स्थापना दिवस तथा १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संघका अध्यक्ष पुरुषोत्तम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
संघका वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर सारुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष पुरुषोत्तम केसीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रको विकासले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। स्थानीय व्यवसायीको संरक्षण, प्रवर्द्धन र व्यावसायिक वातावरण निर्माणका लागि सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले उद्योगी तथा व्यवसायीको हकहित संरक्षण गर्दै स्थानीय उत्पादन, व्यापार र रोजगारी प्रवर्द्धनमा नगरपालिका सधैँ सहकार्य गर्न तयार रहेको बताउनुभयो। उहाँले रामपुरको आर्थिक विकास र समृद्धिका लागि नगरपालिका र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीलाई लगानीमैत्री वातावरण निर्माणमा हातेमालो गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा संघका सल्लाहकारहरू नेत्रप्रसाद भट्टराई, लीला गाहा, बुद्धिप्रकाश रेग्मी र कमलराज भट्टराईले शुभकामना मन्तव्य राख्नुभएको थियो। त्यसैगरी रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिलबहादुर खाँण, महिला संयोजक दुर्गादेवी राना, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेल तथा सदस्य कमल सेनलगायतले पनि कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
संघको स्थापना दिवस तथा वार्षिक साधारण सभाले रामपुर क्षेत्रको उद्योग, व्यापार तथा व्यवसायको विकास, व्यवसायीका समस्या समाधान र स्थानीय आर्थिक गतिविधिलाई थप सशक्त बनाउने विषयमा छलफल गर्ने अवसर प्रदान गरेको छ।