रामपुर युवा क्लबद्वारा कठस्थापनाको अवसरमा दुर्गा भवानीको पूजा–अर्चना, भजन–कीर्तनको आयोजना

  २०८३-०६-२५

पाल्पा, रामपुर। हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा रामपुर युवा क्लब, रामपुर पाल्पाले दुर्गा भवानीको पण्डाल स्थापना गरी पूजा–अर्चनासहित धार्मिक कार्यक्रमको शुभारम्भ गरेको छ।

रामपुर नगरपालिका–५, बेझाड बजारस्थित प्रहरी बिट अगाडि दुर्गा माताको पण्डाल स्थापना गरी आयोजित कार्यक्रमको आइतबार शुभारम्भ गरिएको हो। क्लबले धार्मिक आस्था, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

रामपुर युवा क्लबका अध्यक्ष छम्बहादुर तराईको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापति राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेपाली मौलिक कला, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा पुस्तान्तरणमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले धार्मिक तथा सांस्कृतिक गतिविधिमार्फत सामाजिक सद्भाव र एकता कायम गर्न सकिने उल्लेख गर्दै कार्यक्रम सफलताको शुभकामनासहित १० हजार रुपैयाँ सहयोगसमेत गर्नुभएको थियो।

त्यस्तै, रामपुर नगरपालिका–५ का वडाध्यक्ष दुर्गा पोखरेलले शुभकामना मन्तव्य राख्दै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र निरन्तरताका लागि युवाहरूले देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका क्लबका अध्यक्ष छम्बहादुर दरैले दुर्गा भवानीको पूजा–अर्चना, भजन–कीर्तन तथा धार्मिक गतिविधिका माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले कार्यक्रममा सहभागी हुने सम्पूर्ण भक्तजन तथा सहयोगीप्रति आभार व्यक्त गर्नुभयो।

क्लबका अनुसार पण्डालमा दैनिक बिहान ६ बजेदेखि पूजा–अर्चना गरिनेछ भने साँझ ७ बजेदेखि राति ९ बजेसम्म भजन–कीर्तन सञ्चालन हुनेछ। धार्मिक आस्था र सांस्कृतिक परम्परालाई जीवन्त राख्दै भक्तजनलाई सामूहिक रूपमा पूजा–आराधना गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

कार्यक्रममा पूजा व्यवस्थापन तथा धार्मिक अनुष्ठानमा स्थानीय भक्तजनको सहभागिता रहेको थियो। कार्यक्रममा बन्दना पोखरेलले सञ्चालन गर्नुभएको थियो।

दसैँको अवसरमा आयोजना गरिएको यस धार्मिक कार्यक्रमले रामपुर क्षेत्रमा धार्मिक उत्साह, सामाजिक एकता र सांस्कृतिक जागरण अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।