रमजान महिनाको रोजा र इद पर्व

बाेली खबर   ३० बैशाख २०७८, बिहीबार १४:२९

रामपुर, ३० बैशाख, इस्लाम धर्मका मूख्य पाँच आधार स्तम्भहरु छन् जसमा क्रमशः इमान (सत्य इश्वर माथि आस्था), नमाज पढ्नु, जकात दिनु (निर्धारीत धनबाट निश्चित रकम दान गर्नु), रोजा (वर्त) र हज गर्नु । यी पाँच आधार स्तम्भहरुमध्य चौथो र अति महत्वपूर्ण आधार स्तम्भ रमजान महिनामा वर्त बस्नु हो । रमजान अरबीक पात्रो अनुसार नवौँ महिना हो । यस महिनामा एक इश्वरमाथि आस्था राख्ने हरेक सक्षम आस्थावानका लागि एक महिना सम्म रोजा राख्नु अनिवार्य गरिएको छ । पवित्र धर्मग्रन्थ कुरआनका अनुसार रोजाको लागि ‘सौम’ शब्दको प्रयोग गरिएको छ जसको अर्थ टाढा रहनु वा बच्नु भन्ने हुन्छ ।

रोजाको अवस्थामा रोजादार सम्पूर्ण वैध कार्यहरु जस्तै खानपान लगायतका क्रियाकलापहरुबाट टाढा रहनुपर्ने हुन्छ । बिहान उज्यालो हुनुपूर्वदेखि साँझ सूर्यास्त सम्म कुनैपनि प्रकारका खानेकुरा खानबाट टाढा रहनुपर्ने हुन्छ । रोजा राख्नको लागि विहान उज्यालो हुनभन्दा पूर्व खाइने खानालाई ‘सेहरी’ भनिन्छ भने दिनभर भोको बसी साँझ सूर्यास्त पछि केही खानेकुरा खाएर रोजा तोड्नुलाई ‘इफ्तार’ भनिन्छ । रोजाको अवस्थामा विशेष गरि नियमित नमाज पढ्नु, तराविह (रमजान महिनामा साँझमा पढिने विशेष प्रकारको नमाज पढ्नु, पवित्र कुरआनको पाठ गर्नु, सत्य इश्वर अल्लाहको महिमागान गर्नु, २० देखि ३० रमजान सम्म गाँउबाट कमसेकम एकजना व्यक्ति मस्जिदमा एहतकाफ (गुप्तवास) बसी अल्लाहको महिमागान सहित सम्पुर्ण मानवको भलाईका लागि शान्ति, सुस्वस्थ्य, समृद्यि र मोक्षको लागि प्रार्थना गर्नु, सदकतुल फित्र उठाई गरिब तथा असाहयहरुलाई दान दिनु, खद्यान्न समाग्री, नगद, लत्ताकपडा वितरण गरी सबैलाई इदको खुसीमा सहभागी गराउनु जस्ता क्रियाकलापहरु पर्दछन् ।

रोजा राख्नको लागि विहान उज्यालो हुनभन्दा पूर्व खाइने खानालाई ‘सेहरी’ भनिन्छ भने दिनभर भोको बसी साँझ सूर्यास्त पछि केही खानेकुरा खाएर रोजा तोड्नुलाई ‘इफ्तार’ भनिन्छ ।

रोजाको अर्थ केवल खानपिनबाट मात्र टाढा रहनुको नाम होइन परन्तु यस अवस्थामा रोजादार कुनैपनि अनैतिक क्रियाकलाप, झैझगडा, गाली गलौज, शारिरिक सम्बन्ध इत्यादी कुराहरु सख्तरुपमा बर्जित हुन्छन् । रोजा एउटा आध्यात्मिक धार्मिक क्रियाकलाप हो । आस्थावान रोजादार मानिसले गर्ने क्रियाकलापहरुको जानकारी केवल अल्लाहलाई मात्र थाहा हुन्छ । किनकी यस महिनामा गरिने जतिपनि क्रियाकलापहरु छन् ति सबै प्रर्दशित वा अरु कसैलाई थाहा हुदैन । रोजादार मानिस यस्ता हरेक अनैतिक र अमर्यादित क्रियाकलापहरुबाट आफुलाई बचाएर राख्न चाहेको हुन्छ । जसका कारण रोजा मानिसका लागि एउटा प्रशिक्षण सावित हुन पुग्छ र उसमा हरेक प्रकारका नैतिक गुणहरुको विकास गराउँछ । रोजाको कारण मानिसमा आज्ञापालन, विनयशीलता, नम्रता, धैर्यता, दानशीलता जस्ता गुणहरुको विकास हुन्छ र यी गुणहरुलाई मानिसले रमजानको महिना बाहेक अन्य महिनामा समेत अनुसरण गर्न सक्ने हो भने वास्तवमा एक सभ्य समाजको निर्माण गर्न कुनै गाह्रो हुदैन । एक महिना सम्म राखिने रमजान महिनाको रोजा यस वर्ष नेपाली क्यालेण्डर अनुसार यही वैशाख १ गतेदेखि आज वैशाख ३० गते सम्म रहने छ ।

रोजाको कारण मानिसमा आज्ञापालन, विनयशीलता, नम्रता, धैर्यता, दानशीलता जस्ता गुणहरुको विकास हुन्छ र यी गुणहरुलाई मानिसले रमजानको महिना बाहेक अन्य महिनामा समेत अनुसरण गर्न सक्ने हो भने वास्तवमा एक सभ्य समाजको निर्माण गर्न कुनै गाह्रो हुदैन ।

इस्लाम धर्मावलम्बी मुसलमानहरुमा अत्यन्त पवित्र र बरकतयुक्त महिनाको रुपमा लिइने यस महिनामा गरिने क्रियाकलापहरुमा रोजाको साथसाथै अन्य थुप्रै क्रियाकलाहरु मध्य जकात दान गर्नु पनि एक महत्वपूर्ण क्रियाकलाप हो । जकात भनेको इस्लामको तेस्रो प्रमुख आधार स्तम्भ हो र यसको अर्थ कुनै पनि मानिसमा रहेको साढे सात तोला सुन बराबरको सम्पतीबाट २.५ प्रतिशत रकम छुट्याइ गरिब,
असाहय, बेसाहारा, विधुवा आदीलाई दान गर्नु हो । यस कार्यबाट समाजमा रहेको धनि गरिब विचको असमानता हट्ने र हरेक मानिसमा समान किसिमको जीवन यापन गर्न मदत गर्दछ । रोजाको अवस्थामा गरिने हरेक क्रियाकलापहरुले मानिसमा इशपरायणता उत्पन्न गर्दछ । रोजा विकृतिहरुको ढाल हो यसले हरेक प्रकारका सामाजिक विकृतिहरु जस्तै झैझगडा, द्धन्द, चोरी इत्यादी अनैतिक कार्यहरुलाई रोक्ने काम गर्दछ । रोजाले मानिसमा असल आचरण र बानीको विकास गराउँछ जस्तै मित्रभाव, दीनदुखिहरु प्रति सहानुभूति र सहयोग अनि दानलाई प्रोत्साहन गर्दै जनकल्याणको भावनाको विकास गराउछ त्यसैगरी रोजाले मानविय संवेदनाहरुको मर्यादाको पालना गर्ने बानीको बिकास गर्दछ । इद पर्व निरन्तर एक महिनासम्म रोजा बसिसकेपछि अरबिक पात्रो अनुसार दशौँ महिना अर्थात सावान महिनाको १ तारिख मा इद अर्थात इद–उल–फितर मनाइन्छ । इदमा विशेषगरी रोजादारहरुको लागि एक महिने कठोर साधना समाप्तीको खुुसीयाली रहन्छ भने यसमा सबै वालवालिका, युवाजमात, वृद्धवृद्धाहरुको समेत उत्तिकै सहभागिता रहन्छ ।

रोजा विकृतिहरुको ढाल हो यसले हरेक प्रकारका सामाजिक विकृतिहरु जस्तै झैझगडा, द्धन्द, चोरी इत्यादी अनैतिक कार्यहरुलाई रोक्ने काम गर्दछ ।

इदको दिन पनि इश्वरकै महिमागान र स्तुतिबाट नै प्रारम्भ हुन्छ । विहानै नुहाइधुवाइ गरी आफ्नो गच्छे अनुसारको नयाँ कपडा लगाइ शरिरमा सुगन्ध लगाएर इदगाह (इदको नमाज पढिने खुल्ला चउर) वा मस्जिदमा गइ नमाज पढिन्छ । नमाज पश्चात सबै जना एक आपसमा कुनै पनि कुराको भेदभाव नराखी र सबै प्रकारका रीस रागहरुलाई भुलेर इद मुबारक भन्दै अङ्कमाल गर्ने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ । अत्यन्त सौहाद्र, शान्त र कुनै तडकभडक बिना अत्यन्त सादगीका साथ मनाइने यस पर्वमा सबै जना एक अर्काको घरमा जाने र परिवारका सदस्यहरुमा शुभकामना व्यक्त गर्दै घरघरमा गच्छे अनुसार बनेका खानेकुराहरु खाने चलन रहि आएको छ । इदमा विशेष गरी सेवइका विभिन्न परिकारहरु विशेष परिकारको रुपमा खाइने चलन छ भने यो बाहेक अन्य मासुका परिकार वा अन्य खानाहरु पनि खाने र खुवाउने चलन छ । गत वर्ष र यस वर्षको रमजान र इदमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस र यसको असरबाट बच्न गरिएको बन्दाबन्दीको प्रभाव मुस्लिम समुदायका यी धार्मिक क्रियाकलापहरुमा पनि प्रत्यक्षरुपमा परेको देखिन्छ । भोलि मिति २०७८ बैशाख ३१ गते पर्न गइरहेको यस वर्षको महान पर्व इद–उल–फितरमा पनि यसको असर देखिने नै छ । विशेष गरी इदको नमाजमा भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने, समाजमा कुनै पनि भिडभाड नगर्ने, शुभकामना आदानप्रदान गर्दा अङ्कमाल नगर्ने र खुसियाली मनाउँदा स्वास्थ्यका मापदण्डहरुलाई पूर्णरुपमा पालना गरी मनाउने भनि जनसमुदायहरुमा जानकारी गराइएको छ । सत्य इश्वर अल्लाहले सम्पूर्ण मानवलाई शान्ति, सुस्वास्थ्य र समृद्यि प्रदान गर्दै विश्वव्यापी भाइचारा र अपसी अपनत्वको विकास गर्ने प्रेरणा र शक्ति प्रदान गरुन ।

अर्काइवबाट