माधवको अपराधमा साँक्षी नबस्ने भीम रावलको घोषणा, सांसद पदबाटै राजीनामा

बोली खबर   ३ श्रावण २०७८, आईतवार १६:३५

काठमाडौं, साउन ३ ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नै समुहका नेता माधवकुमार नेपालले धोका दिएपछि कठोर निर्णय लिनुभएको छ । बरिष्ठ नेता नेपाल जसरी पनि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बिश्वासको मत दिने अडानमा रहेपछि सो समुहका प्रभावशाली नेता रावलले सांसद पदबाटै राजीनामा दिने निर्णय लिनुभएको हो ।

उहाँले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरिसक्नु भएको छ । रावलले कलंकको टिका लगाउनु भन्दा सांसद पद त्याग्नु नै उचित हुने निश्कर्षसहित उपाध्यक्ष रावल बिद्रोहमा उभिनुभएको हो ।

उहाँले आफू राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने जानकारी दिनुभएको छ ।

एमाले बिवाद समाधान कार्यदलमा माधव समुहबाट नेतृत्व गर्नुभएका रावल आफूहरुको सहमतिलाई माधवले अस्वीकार गरेपछि निरास बन्नुभएको थियो । कार्यदलले सहमति जुटाइसकेको र माधवको पदीय लालचा र देउवासँगको अबैध डिलका कारण पार्टी बिभाजनमा पुग्ने निश्कर्षसहित रावलले यस्तो कदम चाल्नुभएको हो ।
जनता टाइम्सबाट साभार