पाल्पा, इस्लाम धर्मावलम्बीले आज दोस्रो ठूलो चाड बकर इद मनाउँदै छन् । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।
३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ ।बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । रमजानको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुस्लिम समुदायहरुले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ ।
नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।यस वर्ष पनि विश्व महामारीको रुप लिएको कोभिड जोखिम कायमै रहेकाले विभिन्न संघ संस्थाहरुले शुभकामना संगै सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरि घर मै नमाज पढ्न र इद मनाउन आग्रह गरेको छ । बकर इदको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।