आर्यभन्ज्याङ-रामपुर सडकखण्ड दुई दिनदेखि यातायात सेवा अवरुद्ध

बाेलीखबर   २०७९-०६-२१

पाल्पा । पाल्पाको आर्यभन्ज्याङ-रामपुर सडकखण्डको बिभिन्न स्थानमा पहिरो खसेर दुई दिनदेखि यातायात सेवा अवरुद्ध भएको छ । पूर्वखाेला गाउँपालिकाकाे वीरकोट सेफतमा दुई ठूला पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

सोही सडकअन्तर्गतको पूर्वखोला गाउँपालिका–१, सिलुवाको सानोगल्धा, चापगैरालगायत स्थानमा समेत पहिरो खसेको छ । स-साना पहिरो अन्यत्र पनि खसेको स्थानीयले जानकारी दिए । पहिरो खसेपछि रामपुरतर्फबाट र आर्यभन्ज्याङबाट सवारी साधन चल्न नसकेको प्रहरी चौकी जब्गादीले जनाएको छ ।

लेदोसहितको पहिरो र माथिल्लो भाग भासिएकाले पहिरो पन्छाउन समस्या हुन सक्ने स्थानीयले बताए । सडक अवरुद्ध भएपछि दसैं मान्न घर गएका र आफन्तकहाँ पुगेकाहरू अलपत्र परेका छन् । यो सडकले मित्याल, गल्धा, अर्चले, सिलुवा, खालीवन, बीरकोट लगायत ग्रामीण भेगलाई जोड्छ ।

तस्बिरः पुरन गैह्रे शर्माकाे फेसबुकबाट