रिब्दीकोटमा खाेलाले बगाएर बालिकाको मृत्यु 

बाेलीखबर   २०७९-०६-२१

पाल्पा । लगातर परेकाे पानीले पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेस्थित मन्दी खोलाले बगाएर बिहीबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने रिब्दीकोट–५, नयाँटोलकी पाँच वर्षकी प्रिन्सु पचभैया छिन् ।

बिहीबार अपराह्न साढे ४ बजेतिर कुसुमखोलाको नयाँ टोलबाट भैरवस्थानको रानीठाँटी जाने क्रममा पचभैयासहित तीन जनालाई खोलाले बगाएको थियो । खोला तर्ने क्रममा प्रिन्सुसँगै आमा कवितालाई पनि बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार सँगै खोला तरेकी मीना रानालाई पनि बगाएको थियो । खोलाले बगाएका कविता र रानाको उद्धार गरिएको छ ।

जिल्ला प्रहरीका अनुसार खोलाले बगाएको मीना घाइते भएको र उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । कविता सकुशल रहेको जनाएकाे छ ।