पाल्पा। निस्दी गाउँपालिका–३, क्याङरुङ्गको डाँडाथर बस्ती अविरल वर्षादका कारण खसेको पहिरोले सिंगाे गाउँ नै जोखिममा परेको छ । शनिबार विहान ३ बजे देखि पहिरो खस्न थाले पछि ४५ घर परिवारको बसोबास रहेको बस्ती नै जोखिममा परेको स्थानीयहरुले बताएका छन् ।
राती पहिरो खसेको थाहा पाए पछि स्थानीयहरु घर बाट निस्कीएको स्थानीय किसान सारुले बताए । उनका अनुसार पहिरो खसेको स्थानमा गत वर्ष सानो पहिरो खसेको तर यति ठूलो पहिरो जान्छ भन्ने कहिल्यै नसोचेको बताए । बस्तीको अन्य स्थानमा पनि ढाँजा फाटेको हुनाले डाँडाथर टोल नै पूर्ण जोखिममा रहेको निस्दी–३ का वडा अध्यक्ष नविन्द्र थापा सोतीले बताए । उनका अनुसार पहिरो घरभन्दा १०/१५ मिटर तल पुगिसकेको छ । स्थानीयहरुलाई सुरक्षित स्थान तर्फ लैजाने र घरहरु खाली गर्ने कार्य भैरहेको जानकारी दिएका छन् ।
पहिरो संगै बस्ती भन्दा तलको ढुङ्गानाबेसी–क्याङरुङ्ग–झिरुवास सडक खण्डको भाग खसेर घरहरु खस्ने क्रममा रहेको स्थानीय शिक्षक तिल बहादुर सारुले जानकारी दिए । उनले भने, “हिजो सम्म पहिरो खसेको थिएन । विहान ३ बजे देखि खस्न थालेको पहिरो निरन्तर खसिरहेको छ । सडक सबै खसेर वेग बहादुर पल्लीको घर समेत जान लागेको छ ।” पल्लीको घर खसेमा रहविर पल्लीको घर पनि खस्ने अवस्था रहेको छ । पहिरोको फैलावट बढ्ने क्रममा रहेकाले पश्चिम तर्फ गएमा मोतिराम बयम्बु, धन बहादुर बयम्बु र पूर्व तर्फ बढेमा नर बहादुर सोती, देवराज सोती, तिल बहादुर सारु, किसान सारु लगाएतको घर पूर्ण जोखिममा परेको छ ।
पहिरो प्रभावित क्षेत्रमा पुग्नु भएका निस्दी गाउँपालिकाका उपाध्यक्ष तीरण कुमारी श्रेष्ठले पहिरो प्रभावितहरुको लागि सुरक्षित स्थानमा तर्फ लैजान र तत्काल त्रिपाल तथा खाद्यान्नको व्यवस्था गर्ने तयारी गरीरहेको जानकारी दिएका छन् । वस्तीका अधिकांश स्थानमा ढाँजा फाटेकाले स्थान्तरणको विकल्प नरहेको बताइन । पहिरोका कारण स्थानीयहरु त्रसित बनेका छन् ।


