जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे) काे चौरासी पुजा सम्पन्न (तस्बिर सहित)

बाेलीखबर   २०७९-०६-२४

पाल्पा । जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे) काे चौरासी पुजा सम्पन्न भएकाे छ । विगत ३० वर्ष देखि पाल्पाको सामाजिक जीबनमा काम गदैै आएक काजुमासा काकिमी ओके बाजेलाइ हिन्दु संस्कार अनुसार चौरासी पुजा गरिएको हाे ।

आईतबार कोजाग्रत पुर्णिमा अवसर पारेर पुर्वी पाल्पाको गंगा माविमा पुजा गरी सम्पन्न गरेकाे हाे । शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सक्रिय काजुमासा काकिमी ओके बाजेलाई बैदिक विधी अनुरुप सहचन्द्र दर्शन एवं चौरासी पुजा सहित रामपुरमा अभिनन्दन गरिएको हो । उनको योगदानको कदर गर्दै सम्मान स्वरुप दीर्घजीवनको कामना सहित चौरासी पुजा गरी अभिनन्दन गरिएको छ ।

जापानमा जन्मेर पनि नेपाली भुमिमा लामो समय देखि सक्रिय ओके बाजेको नेपाली परम्परा अनुसार ३० जना पुरोहितबाट पुजा गरिएको मुल पण्डित हरिप्रसाद खनालले जानकारी दिए। सहचन्द्र दर्शन एवं चौरासी पुजा मूल आयोजक समितिका अध्यक्ष एवं गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले बाजेको दीर्घजीवन कामना र उहाँको योगदानको कदर गर्दै सहचन्द्र दर्शन एवं चौरासी पुजा गरिएको जानकारी दिए। उनले यस क्षेत्रको शैक्षिक संस्था, स्वास्थ्य संस्था, सामाजिक संघ संस्थाको पूर्वाधार निर्माण, खानेपानी योजना, जिविको पार्जन, बालबालिकालाई छात्रवृति प्रदान तथा निम्न परिवारका व्यक्तिहरुको स्वास्थ्य उपचारको लागि महत्वपूर्ण सहयोग गर्दै आएकाे थियाे।

८४ वर्ष पुगेको उपलक्ष्यमा बाजेलाई विद्यार्थी, शिक्षक तथा संघ संस्थाका प्रमुखहरुको उपस्थितिमा रामपुर नगर परिक्रमा समेत गराईएको थियो । सो अवसरमा विभिन्न विद्यालयहरुले स्वागत सहित सम्मान गरेको थियो । नेपाली परम्परा अनुसार पुजा गर्ने व्यवस्था मिलाएकोमा ओकेबाजेले सबैलाई धन्यवाद दिएका थिए।

पाल्पालीकाे अपार मायाँ र स्नेह प्रदान गरेकोमा खुशी व्यक्त गर्दै निरन्तर सेवामा सक्रिय हुने बाजेको भनाई थियाे । रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी, माथागढी, पुर्वखोला, रम्भा, गाउपालिका सहित क्याम्पस, विद्यालय एवम् स्थानीय संघ संस्थाको आयोजनामा गंगा माध्यमिक विद्यालय रामपुर ८ एक्लेटारमा चौरासी पुजा गरिएको थियाे । साथै पुजाको अवसरमा सम्पूर्ण विद्यालय तथा संघ संस्थाको तर्फबाट अभिनन्दन समेत गरिएको थियो ।

कार्यक्रमको अवसरमा मगरी संस्कृतिमा आधारित कौरानाच समेत देखाएको छ । ओकेबाजेको पुजा तथा अभिनन्दनमा विभिन्न पालिका जनप्रतिनिधि, विद्यालय, संघ संस्था तथा नागरिकको उत्साहजनक सहभागीता रहेको थियोे । अभिनन्दमा जापानी नागरिहरुको पनि उपस्थिति रहेकाे थियो ।

गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम भुषालडाँडा माविका प्रधानाध्यापक सुन्दर श्रेष्ठको स्वागत र रामतुलसी माविका शिक्षक लेखनाथ शर्मा मरासिनीले सञ्चालनमा गरेका थिए।