पाल्पा । रामपुर नगरपालिका–५, सानीअमराईमा मोटर साईकलको ठक्कर बाट गम्भीर घाईते भएकी वृद्धको निधन भएको छ । रामपुर–५ बेझाँड बजार बस्ने ७० वर्षिय कोपरी दमिनिको उपचारको लागि तानसेन लैजाने क्रममा बाटो मै निधन भएको हो ।
बाटोमा पैदल हिडिरहेकी उनलाई कालीगण्डकी करिडोर अन्तर्गतको सडक खण्ड सानीअमराईमा रामपुरबाट स्याङ्जाको दामाचौर तर्फ जाँदै गरेको लु ६८ प ९९९४ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो ।
गम्भीर घाईते उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारको पछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन रिफर गरिएको थियो । उपचारको लागि लैजाने क्रममा रम्भा गाउँपालिका–१ हुँगीमा पुग्दा बाटैमा निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।


