पाल्पा । माथागढी गाउँपालिकाका विभिन्न वडाहरुमा भुस्याहा कुकुरको बिगबिगि बढेपछि स्थानीय त्रसित भएका छन् । चिदीपानी, रुप्से र कसेनी लगायतका स्थानमा भुस्याहा कुकुरले मानिस र पशु चौपायालाई टोक्ने गरेको छ ।
चिदीपानी बाहाखोक, कुनाबारी, ढकालकुना, दोहोरा, सोले खहरे, सराइ आसपासमा भुस्याहा कुकुरले टोकेर २५ जना घाइते भएको उनीहरुलाई अहिले उपचारका लागि युनाइटेड मिसन अस्पताल ल्याएको चिदीपानीका वडाअध्यक्ष राजकुमार पन्थीले बताएका छन् ।
यस क्षेत्रमा केही दिन देखि बौलाह कुकुरले पशुचौपायाहरुलाई समेत आक्रमण गर्दे आएको र अहिले बौलाहा कुकुरले गर्दा यस क्षेत्रमा मानिसहरु आवतजावत गर्न समस्या भएको उनले बताए ।
माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले कुकरको टोकाइबाट घाइते सबैको उपचारको व्यवस्था गरिने र आफू घाइतेसँगै अस्पताल पुगेको बताएकाक छन्। घाइतेको उपचार र भुस्याहा कुकुरको तत्काल नियन्त्रणका लागि पालिकाले काम थालिसकेको अध्यक्ष चिदीले बताएका छन् । भुस्याहा कुकुरको नियन्त्रणका लागि तत्काल काम सुरु गरिएको पालिकाले जनाएको छ । माथागढीको यस क्षेत्रमा भुस्याहा कुकुर विगविगी रहँदै आएको छ ।



