‘छैटौं मण्डली कप–२०७९’ को उपाधी फ्रेण्डशिप क्लव चापाकोटलाई

बाेलीखबर   २० कार्तिक २०७९, आईतवार ०८:०७

पाल्पा । मण्डली स्पाेटर्स क्लब पूर्वखाेला-१ सिलुवाले आयाेजना गरेकाे  ‘छैटौं मण्डली कप–२०७९’ को उपाधी फ्रेण्डशिप क्लव चापाकोट स्याङ्जाले हात परेकाे छ । विभिन्न क्लवहरुको उपस्थितिमा भएको खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईनल खेलमा श्रीनगर भलिबल क्लवलाई ३/१ सेटले पराजित गर्दै फ्रेण्डशिपले उपाधी जितेको हो ।

मण्डली स्पोर्ट क्लवको खेल मैदानमा भएको फाईनल खेलमा पहिलो, दोस्रो र चौथो सेट फ्रेण्डशिपले क्रमश २५/२०, २७/२५ र २५/१८ अंक सहिते हात पारेको थियो । तेस्रो सेट श्रीनगर भलिबल क्लवले २५/१८ सहित हात पारेको थियो । यस संगै श्रीनगर भलिबल क्लव द्वितिय स्थानमा समेटिएको छ । मण्डली स्पोर्टस क्लव पूर्वखोलाको आयोजना र पुर्वखोला गाउँपालिकाको सहआयोजना भएको प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लव तृतिय भएको छ ।

तृतिय स्थान छनौटका लागि भएको खेलमा मण्डली स्पोर्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै मणिमुकुन्दले तृतिय उपाधी हात पारेको हो । पहिलो, दोस्रो र तेस्रो सेट क्रमश २५/२१, २९/२७ र २५/१५अंक सहित हात पारेको हो । आयोजक मण्डली स्पोर्ट क्लव सन्त्वना भएको छ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने समुहले क्रमश नगद १ लाख रुपयाँ, ७० हजार रुपैयाँ, ४० हजार रुपैयाँ र २० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । ८ वटा क्लवहरुको सहभागीता रहेको प्रतियोगिताका खेलाडीलाई उत्कृष्ट छ विद्यामा नगद १०/१० हजार सहित पुरस्कृत गरिएको छ ।

पुरस्कार वितरण गर्दै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले प्रतियोगिताले युवाहरुलाई खेलकुद प्रति थप उत्साह जगाएको बताउनुभयो । साथै उहाँले खेलकुदको पूर्वाधार विकासको लागि पालिकाले आवश्यक पहल गर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष जीवन आचार्यले मण्डली स्पोर्टले चालेको कदमको प्रशंसा गर्नुभयो । मण्डली स्पोर्टस् क्लवका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम, पूर्वखोला भलिबल संघका सचिव नविन आचार्यको स्वागत र मण्डली स्पोर्ट क्लवका सचिव कृष्ण प्रसाद पंगेनीको सञ्चालनमा भएको हो । समापनको अवसरमा मौलिक संस्कृति झल्कने पञ्चे बाजा, कौरा तथा लाखे नाच प्रस्तुत गरिएको थियो ।