पाल्पा । सुदूरपश्चिमको डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ। मध्यरातकाे २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो ।
केन्द्रका अनुसार ६.६ म्याग्निच्यूडको भूकम्प गएको भने उक्त भूकम्पको धक्का कर्णाली, लुम्बिनी प्रदेशका जिल्लाहरूमा समेत महशुस गरिएको छ।
बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा उक्त घटना भएको हो । गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ ।
एक दर्जनभन्दा बढी घाइते छन् । केहीको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका स्थानीय प्रशान्त खड्काले बताए ।
यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो ।
गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन् । उनीहरू चिसोमा खुला आकाशमुनि रात बिताइरहेका छन् ।


