पाल्पा । पाल्पामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मतदान शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ । पाल्पा क्षेत्र नं. १ काे मत मतदान सम्पन्न भए संगै मतपेटिका संकलनको कार्य जारी रहेको छ ।
जिल्लाका मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा मध्यरातमै संकलन गर्ने कार्य चलिरहेको छ । प्रतिनिधि सभा पाल्पा क्षेत्र नं. १ को नापी कार्यालय रामपुरको भवनमा संकलन भैरहेको छ । गणनाको लागि सम्पूर्ण तयारी भैसकेको छ । मतगणना स्थलमा तारजाली सहित सीसीटीभी समेत जडान गरिएको प्रतिनिधि सभा पाल्पा क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले बताए ।
पाल्पाका मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जिल्लाका दुवै क्षेत्रको मत गणना र मटपेटिका व्यवस्थापनका लागि तयारी भइसकेको जानकारी दिएका छन् ।
मध्यरातमा मतदान स्थलबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको समन्वयमा मतपेटिका ल्याउने कार्य भैरहेको छ । मतपेटिका संकलन भएपश्चात सर्वदलीय बैठक बसेर मतगणना सुरु गरीने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको केही स्थानका मतपेटिका आईसकेको छ । केही स्थानको भने आउने क्रममा रहेको छ ।
निर्वाचनमा ६० प्रतिशत बढी मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । जिल्लाको १ सय १८ मतदान स्थलका २ सय ४६ मतदान केन्द्र मध्ये तानसेनको जनप्रिय मावि बर्तुङ्गको केन्द्रमा र दमकडाको मतदान स्थलमा मतपेटिकमा मत पत्र राख्दा फरक परेकाले पुनः मतदान भएको थियो ।अन्य स्थानमा साँझ ५ बजे मतदान सकिए पनि स्थगित भएर सञ्चालन भएको दुवै केन्द्रमा साँझ ७ बजे सम्म मतदान सकिएको थियो ।