पाल्पा । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि. रामपुर पाल्पाको २४ औं बार्षिक साधारण सभा शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
पाल्पा जिल्लाभर सेवा क्षेत्र विस्तार गरेको सहकारीले विभिन्न सेवा केन्द्र स्तरीय साधारण सभा मार्फत प्रतिनिधि चयन गरी निर्णय प्रमाणित सहितको साधारण सभा सम्पन्न गरेको हो ।
२४ औं साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संस्थाका (नेफ्सकून) का महासचिव दामाेदर अधिकारीले बैंक तथा अन्य वित्तिय संस्थाको मालिक सिमित व्यक्तिहरु रहने पनि सहकारीको मालिक प्रत्येक शेयर सदस्यहरु भएको बताउँदै सहकारी संस्थालाई अघि बढाउन शेयर सदस्यहरुको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
उहाँले पूँजीलाई उद्यमशिलता तर्फ लगाउने समय आएको बताउँदै, संस्थाको वित्तिय कारोबारलाई चुस्त बनाउन डिजिटल प्रविधिको प्रयोगमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिका ७ का वडा अध्यक्ष दोवराज तिवारीले पुँजी आर्जनका लागि उद्यमशीलता आवश्यक रहेको बताउँदै सहकारीलाई माथि उठाउन बचत तथा ऋणका कारोबार सहकारी बाटै गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहकारीका सल्लाहाकार सुकदेव पोखरेल, नेत्र प्रसाद भट्टराई, दयाराम भट्टराईले संस्थाले प्राप्त गरेका उपलब्धीहरुले थप उत्साह जगाएको बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पाका सदस्य कृष्ण कुमार अर्याल, रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कोषध्यक्ष विष्णुमायाँ ढकाल, रामपुर बचत तथा ऋण सहकारी संस्थाका कोषध्यक्ष भोजराज भट्टरार्इ, लेखा सुपरिवेक्षण समितिका सदस्य रामप्रसाद ढकाल, शेयर सदस्य चिरन्जीवि सिग्देल र गिता जिसीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष सागर प्रसाद देवकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको सुझाव र सल्लाह अनुसार सहकारीलाई अघि बढाउने बताउनुभयो । संस्थाका अध्यक्ष सागर प्रसाद देबकोटाकाे अध्यक्षता तथा उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ओम प्रकाश बस्यालले गर्नुभएको हो । साधारण सभाको अवसरमा सहकारीले ७० वषै पुगेका शेयर सदस्यहरुलाई मासिक भत्ता उपलब्ध गराउन सुरु गर्नुका साथै सम्मान गरेको थियो । साथै सहकारी पूर्व सञ्चालक समितिका पदाधिकारीहरुलाई पनि सम्मान गरेको छ ।


