माथागढी गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न

रमेश राना   २०७९-०९-२७

पाल्पा । माथागढी गाउँपालिका गाउँसभाको १२ औं अधिवेसन सम्पन्न भएको छ । गाउँपालिकाको सभाहल झडेवामा सम्पन्न भएकाे हाे ।

गाउँसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले समृद्धि माथागढी निर्माण गर्नको लागि हरेक विषयका कर्मचारीहरुको अहम भूमिका रहेको र सेवाग्राहीहरुलाई सहज तरिकाले सेवा दिइरहन समेत अनुरोध गर्नुभयो । गाउँपालिकालाई समुन्नत बनाउन हरकदम लागिरहने कर्मचारी तथा श्रमिकहरुलाई समेत नगद र सम्मान पत्रद्वारा पुरस्कृत गरेको बताउनुभयो ।

गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीद्वारा गाउँपालिकाले चालु आर्थिक वर्षको ६ महिनाभित्र गरेको कार्य सम्पादन, योजना र कार्यक्रमहरूको प्रगति विवरण समेत पेश गर्नुभएको थियाे । अधिकृत ज्ञवालीले वडाका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकालाई व्यवस्थित र समयमा नै योजनाका काम सक्ने गरि अघि बढ्न समेत सबैमा अनुरोध गर्नुभएकाे थियाे ।

गाउँसभाबाट दुई नयाँ विधेयकहरु र बजेट तथा कार्यक्रम संसोधन सम्बन्धी प्रस्तावहरुलाई सर्वसम्मत रुपमा पारित गरिएको थियो । माथागढी गाउँपालिका वडा नं. २ र ४ को सडक सरसफाई र मर्मत गर्ने कार्यमा निरन्तर लागिरहेका श्रमिकहरु, विषयगतका उत्कृष्ट कर्मचारीहरु, उत्कृष्ट प्र.अ., उत्कृष्ट शिक्षकका साथै उत्कृष्ट बाल विकासा सहजकर्ताहरु लगायतलाई नगद र सम्मानपत्र सहित पुरस्कृत गरिएको थियो।

गत वर्षको गाउँपालिका स्तरीय वार्षिक परीक्षामा कक्षा (५ र ८) का साथै एससीसीमा गाउँपालिका भित्रमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।