पाल्पा । निस्दी गाउँपालिका, पाल्पामा दिवा खाजा कार्यक्रमले विद्यार्थीको नियमित उपस्थिति भएको छ । हाल नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रारम्भिक बाल विकासदेखि ६ कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ ।
निस्दीमा ८ कक्षा सम्मका विद्यार्थीले नियमित खाजा पाएका छन । कक्षा ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीको लागि पालिकाले बजेट विनियोजन गरेको छ । निस्दीले चालु आर्थिक वर्ष २०७९/८० को लागि कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रम अन्तर्गत २७ लाख रकम छुट्याइएको छ । हाल निस्दीको प्रारम्भिक बाल विकासदेखि ८ कक्षा सम्मका विद्यार्थीले नियमित रूपमा खाजा खाँदै आएका छन । यहाँ १२ वटा माध्यमिक, १३ वटा आधारभूत र २८ वटा प्राथमिक गरी जम्मा ५३ वटा सामुदायिक विद्यालय रहेका छन । चालु शैक्षिकसत्रमा प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्ममा ५ हजार १ सय ९ जना विद्यार्थी अध्ययनरत छन ।
नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको निशुल्क र अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ एवं शिक्षा नियमावली २०७७ ले दिवा खाजाको प्रावधानलाई कानुनी रूपमा स्थापित गरेको छ । हाल देशभरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रारम्भिक बाल विकासदेखि ६ कक्षा सम्मका सबै विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ । प्रायः आधारभूत तह सम्मका विद्यार्थीहरु केटाकेटी नै हुन्छन । बिहानको खानाले दिनभरलाई पुग्दैन । भोको पेटले विद्यार्थीको पढाइमा असर पर्ने भएकोले हाललाई ८ कक्षासम्म दिवा खाजा कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताए । साथै आगामी दिनमा यसले सकारात्मक प्रभाव पर्दै गएको खण्डमा माध्यमिक तह सम्मनै दिवा खाजा कार्यक्रम ल्याउन सकिने अध्यक्ष सारुको भनाइ रहेको छ ।
निस्दीमा दिवा खाजा कार्यक्रमले सकारात्मक परिवर्तन आएको देखिन्छ । विद्यार्थीहरु विद्यालयमा नियमित हाजिर हुने , शिक्षक कर्मचारीहरुमा विद्यालय समयावधिभर थप जिम्मेवारी बोध हुने गरेको पाइन्छ । यसले पठनपाठन क्रियाकलापमा पनि धेरै टेवा पुगेको शिक्षा शाखा संयोजक नर बहादुर थापाले बताए । निस्दीका धेरै विद्यालयले दिवा खाजा व्यवस्थापनको लागि आफ्नै स्रोतबाट छुट्टै कर्मचारी समेत राखेको देखिन्छ । जसलाई त्यहाँका शिक्षक कर्मचारीले सघाएका छन । केहि विद्यालयले भने कार्यालय सहयोगीलाई नै भर दिएको पाइन्छ । कुनै विद्यालयले अभिभावकलाई पालैपालो परिचालन गरेको भेटिन्छ । जसरी पनि ८ कक्षासम्मका विद्यार्थीले नियमित खाजा खाना भने पाएका छन । सकेसम्म सबै विद्यालयले एकरूपता हुनेगरी खाजा खुवाउन सके यसको सकारात्मक प्रभाव बढने प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताए । कुन-कुन विद्यालयले कसरी गर्दै आएका छन त्यो पालिकाले निरन्तर निगरानी गरिने समेत दयालको भनाइ रहेको छ । दिवा खाजाले साच्चिकै निस्दीका विद्यालयमा परिवर्तन र विद्यार्थीहरुमा नियमितता बढेको देखिन्छ ।
सरस्वती माध्यमिक विद्यालय गल्धामा शिक्षक कर्मचारी र अभिभावक मिलेर नियमित रूपमा खाजा खुवाउने गरेको प्रधानाध्यापक सुशील ढकालले बताए । यसले गर्दा तल्लो कक्षाका विद्यार्थीहरु पनि नियमित रूपमा विद्यालय आउने ढकालको भनाइ छ । साथै दिवा खाजालाई थप व्यवस्थित बनाउन विद्यालय छिट्टै चमेनागृह सञ्चालनको तयारीमा रहेको ढकालले बताए । पालिकाले ८ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेपछि विद्यालयलाई धेरै सजिलो भएको जीवन ज्योति आधारभूत विद्यालय मित्यालका प्रधानाध्यापक चित्र सिंह आलेले बताए । पहिला तल्लो कक्षाका विद्यार्थीले खाजा खाँदा माथिल्लो कक्षाका विद्यार्थीहरु टुलुटुलु हेरेर बस्ने गर्थे, अहिले सबैले खाजा पाएपछि अत्यन्तै खुशी भएको आलेको भनाइ छ । सकेसम्म हरेक बार खाना चार भन्ने स्वास्थ्यको मापदण्डअनुसार खाजा खुवाउदै आएका छौँ । खाजाको परिकारमा स्थानीय अन्न, सागपात, गेडागुडी, अन्डा र फलफूल नछुटाएको प्रधानाध्यापक आलेले बताए ।
शिक्षक र कर्मचारी पठनपाठन कार्य र व्यवस्थापनमा व्यस्त रहनुपर्ने भएकोले विद्यालयले दिवा खाजा कार्यक्रमको लागि आफ्नो स्रोतबाट एकजना छुट्टै कर्मचारी राखेको छ । खालि समयमा हामीले पनि सघाउदै आएका छौँ आलेले भन्नुभयो । यता लालीगुराँस प्राथमिक विद्यालय बाकामलाङले पनि एकजना छुट्टै कर्मचारी राखेर दिवा खाजा कार्यक्रमलाई व्यवस्थित ढंगले सञ्चालन गरिदै आएको प्रधानाध्यापक मन सुधन सोतीले बताए । दिवा खाजा कार्यक्रमले विद्यार्थीहरु नियमित रूपमा विद्यालय आउने गरेको सोतीको भनाइ छ ।
स्थानीय सरकारले चाहेको खण्डमा यि र यस्ता थुप्रै कार्यक्रमहरु गर्ने अधिकार प्राप्त छ । जिल्लाका सबै पालिकाले यस्ता कार्यक्रम लागु गरेको पाइन्न । साच्चिकै निस्दीमा दिवा खाजा कार्यक्रमले राम्रो प्रभाव परेको देखिन्छ । यसले विद्यालयमा विद्यार्थीहरुको नियमितता बढाउनुका साथै पठनपाठन क्रियाकलापमा समेत सघाएको पाइन्छ ।


