पाल्पा । हामी सबैको पर्व ‘तेस्रो रामपुर महोत्सव’ भन्ने अभियानका साथ यही माघ २७ गतेदेखि फागुन ८ गतेसम्म आयोजना हुने रामपुर महोत्सवको तयारी तीव्र रुपमा भइरहेको मेला मूल आयोजक समितिले जानकारी दिएको छ । तयारीका क्रममा सोमबार रामपुरका आमा समूह, महिला सञ्जाल समुहको बैठक बसेको थियो ।

मेला आयोजकको महिला तथा आमा समूह परिचालन तथा व्यवस्थापन उपसमितिकी संयोजक उमाकुमारी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले महोत्सवको आयोजनामा मेला, झाँकी र्यालीको तयारी र सहभागीका बारेमा छलफल गरी भव्य रुपमा सफल बनाउने निर्णय गरेको हो ।
भेलामा मेला आयोजक समितिका अध्यक्ष एवं रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेलाको उद्देश्यबारे जानकारी दिँदै सहभागिता र सहयोगका लागि अनुरोध गरे । महोत्सव आयोजक समितिकी सदस्य दुर्गादेवी राणाले सञ्चालन गरेकी थिइन् । यसैगरी सोमबार वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको संयोजकत्वमा निस्दी गाउँपालिका, वाणिज्य उपाध्यक्ष विष्णुकुमार सारु र उद्योग उपाध्यक्ष भरतराज देवकोटाको संयोजकत्वमा गल्याङ, चापाकोट नगरपालिका र रम्भा गाउँपालिकामा सहकार्य र समन्वयका लागि भेटघाट भएको थियो ।


