रामपुरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने

बाेलीखबर   २०७९-११-०१

पाल्पा । रामपुरमा जारी ‘तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला’ को अवसरमा यहि फागुन ३ देखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएकोछ ।

जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रायोजकमा प्रतियोगिता हुन लागेको हो ।

आयोजकले सोमबार भलिबल हुने स्थानमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगितामा पाल्पा, नवलपुर, नवलपरासी, गुल्मी, तनहुँ, कास्की, बाग्लुङ, पर्वत, स्याङ्जा, रुपन्देही लगाएत १० जिल्लाको सहभागिता रहने आयोजकले जनाएकोछ ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिने जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताका संयोजक शंकर बहादुर खाँणले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई विभिन्न विद्यामा ५/५ हजार नगद र ट्रफी सहित पुरस्कृत गरिने जनाएको छ । साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको उपाधी प्रदान गरिने जनाएको छ । खाँणले स्थानीय खेल प्रतिभाहरुलाई उत्प्रेरणा प्रदान गर्नुको साथै खेल बाट रामपुरको पहिचानका लागि प्रतियोगिता सञ्चालन गर्न लागिएको बताका थिए । खाँणले प्रतियोगिताबाट संकलन भएको रकम जिल्ला भलिबल संघ, नगर खेलकुद विकास समिति र रामपुर भलिबल संघको संस्थागत विकासको छुट्याईने बताए ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले राष्ट्रिय खेलको रुपमा रहेको भलिबलको खेलको माध्यम बाट रामपुरलाई चिनाउन प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए । प्रतियोगिताका संयोजक शंकर बहादुर खाँणको अध्यक्षतामा भएको पत्रकार सम्मेलन नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष कमल सेनको स्वागत बाट सुुरु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले धन्यवाद ज्ञापन दिएका थिए ।