पाल्पा । रामपुरमा जारी ‘तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला-२०७९’मा शनिबार २५ हजार बढी दर्शकहरु उपस्थित भएका छन् । मेलाको नवौं दिन महोत्सव अवधि भरमै सबै भन्दा बढी धेरै दर्शकहरुले सहभागीता जनाएको मेलाको आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
शनिवार महाशिवरात्री संगै आइतबार पनि सार्वजनिक विदा भएकाले दर्शकहरुको ओइरो लागेको थियो । मेला समापन हुने मिति नजिकिनुका साथै सार्वजनिक विदा परेकाले मेला अवलोकनका लागि आउनेको सख्या शनिबार उल्लेख्य रहेको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो । “शनिबार दर्शकहरुको उपस्थिति मेला अवधिभर अहिले सम्मको उच्च हो । टिकट विक्रीको अवस्थालाई हेर्दा आज मात्रै २५ हजारले मेलाको अवलोकन गरेका छन् ।” अध्यक्ष ढकालले भन्नुभयो । उहाँले मेलाका स्टल, बालउद्यान, होटल तथा रेष्टुरेण्ट संगै भलिबल तथा सांस्कृतिक कार्यक्रममा दर्शकहरुको उपस्थिति निकै बाक्लो रहेको बताउँदै मेलामा १ करोड बढीको कारोबार भएको जानकारी दिनुभयो ।

संघका महासचिव पुरुषोत्तम केसीले मेलाको अवसरमा आयोजित औपचारिक कार्यक्रममा मेला ८ गते सम्म मात्र सञ्चालन हुने जानकारी दिनुभयो । मेला अवलोकनका लागि गण्डकी वेशी क्षेत्रको पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर लगाएत विभिन्न जिल्लाका दर्शकहरुको सहभागीता रहेको थियो ।

महोत्सवमा जारी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा सञ्चालन भएको स्थान पनि दर्शकहरुले भरिएको थियो । महोत्सवमा शनिबार लोकदोहोरी गायक राम्जी खाँण, लोकदोहोरी गायिका शुशिला गौतम, हास्यकलाकार सुमित कुमार घिमिरे, गायक कृष्ण सुवेदी, राजेन्द्र कंडेल लगायतको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रम प्रस्तोताको रुपमा जिवन दहाल रहनु भएको छ ।

शनिबारको मेला संघका अध्यक्ष ढकालको अध्यक्षता र निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको प्रमुख अतिथ्यतामा भएको थियो । मेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी सारुले उद्योग वाणिज्य संघले चालेको कदमले निस्दीबासी पनि खुशी रहेको बताउनुभयो । रामपुर सुन देखि माटाका भाँडा सम्म पाईने ठाउँ रहेको स्मरण गराउँदै रामपुर फूल र निस्दी भमरा भएको बताउनुभयो । रामपुर र निस्दी विचको सम्बन्ध नजिकको रहेको भन्दै महोत्सवले व्यवसायिक कृषक तथा उद्यामीहरुलाई महत्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गर्नुभयो ।

शनिबार विद्यालय स्तरिय डान्स आईडलको फाईनल संगै लोकदोहोरी प्रतियोगिताको तृतिय स्थान छनौटको प्रतियोगिता भएको थियो । प्रतियोगितामा लोक तथा दोहोरीगित प्रतिष्ठान पाल्पा र पृथ्वी टेलिभिजनको समुह तृतिय हुन सफल भएको लोक तथा दोहोरी गित प्रतियोगिताका संयोजक नारायण लेकालीले जानकारी दिनुभयो । आइतबारको मेलाको आकर्षणका रुपमा आधुनिक गायिका रचना रिमाल, लोकदोहोरी गायक जिवन सिग्देल, तेजस रेग्मी, लोकदोहोरी गायिका अस्मिता धौलाकोटी, अनिश विश्वकर्मा रहने छन् ।



