पाल्पा । आज ८ मार्च, अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ ।
नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
पाल्पाका स्थानीय तहहरूले पनि बिभिन्न कार्यक्रम गरी मनाइदै छ । रामपुर नगरपालिकाले उद्यमी महिलाहरुलाई सम्मान गर्ने भएको छ । उद्यम तर्फ उत्प्रेरित गर्ने उद्देश्यका साथ उद्यम गरि आत्मनिर्भर बनेका विभिन्न उद्यम व्यवसाय गरेका महिला दिदि बहिनिहरुलाई नगरपालिकाले सम्मान गर्ने रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो । महिलाहरुले गरेको काम र उद्यमशिलताको कदर सहित उद्यमी महिलालाई सम्मान गर्न लागिएको उपप्रमुख थापाले बताउनुभयो ।
निस्दी गाउँपालिकाले स्नातकोत्तर तह उत्तिर्ण गर्ने महिलाहरुलाई सम्मान गर्ने भएको छ । निस्दी गाउँपालिकाका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले महिलाहरुलाई अध्ययनका लागि प्रेरित गर्न कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका भित्र कै नारीहरुलाई शिक्षा प्रति प्रेरित गरी स्थानीय तहमा आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ यस पटक स्नातकोत्तर तह उत्तिर्ण महिलाहरुलाई नारी दिवसको अवसरमा सम्मान गर्न लागेका हौं ।” श्रेष्ठले पालिका शिक्षामा पछि रहेको र त्यस माथि महिलाहरु झनै पछि रहेकाले विविध चुनौती बाजदुत स्नातकोत्तर उत्तिर्ण गरेका महिलाहरुलाई सम्मान गर्न लागेको जानकारी दिनुभयो । गाउँपालिकाले नगद ५ हजार सहित दोसल्ला, सम्मान पत्रले सम्मान गर्न लागेको हो ।
विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।


