रामपुर नगरपालिकाद्धारा उद्यमी महिलाहरु सम्मानित

बाेलीखबर   २०७९-११-२५

पाल्पा । रामपुर नगरपालिकाले ”लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’‘ भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०७९ विविध कार्यक्रम गरि मनाएको छ।

महिला श्रमिक दिवस तथा नारी दिवसको अवसरमा रामपुर नगरपालिकाले बुधबार महिलाहरुलाई सम्मान गरेको हो । नगरपालिकाको अनुदान तथा नगरपालिकाले संचालन गरेका तालिम मार्फत उद्यमी बनेका महिला तथा समुहहरुलाई सम्मान गरेको छ । नगरपालिकाले उत्कृष्ट महिला उद्यमी , समुह , कलाकार तथा पत्रकार गरी ५० भन्दा बढि महिलाहरुलाई सम्मान गरेको हो ।

रामपुर नगरपालिका उप-प्रमुख बालकुमारी थापाको अध्यक्षता र रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कोषाध्यक्ष बिस्णुमाया ढकालको प्रमुख आतिथ्यतामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको हो।

कार्यक्रममा रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले महिला घरब्यबहारमा मात्रै सिमित नभएर राज्यको त्यो अग्रज पहुँचमा समेत पुग्न सक्ने इच्छाशक्तिको पैदा गरि अगाडी बढ्न सक्ने हुनुपर्ने बताउनु भयो ।साथै थापाले महिला जो व्यावसायिक रूपमा लागि आत्मनिर्भर हुन चाहन्छ र सीप सिक्न तालिमको आवस्यकता परेको छ भने हामी त्यो अवसर जुटाइदिने बताउनु भयो ।

कार्यक्रममा रामपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने,  इलाका प्रहरी कार्यालय प्रमुख लक्ष्मण देवकोटा, रामपुर नगरपालिकाका प्रवक्ता तथा रामपुर नगरपालिका वडा न १ का वडाअध्यक्ष कपिल बहादुर खाँण, अखिल नेपाल महिला संघ रामपुर नगर कमिटी अध्यक्ष दुर्गा देबि राना, अखिल महिला संघ (क्रान्तिकारी) रामपुर नगर कमिटी अध्यक्ष गिता देवि बि क, कालीगण्डकी फाउन्डेसन नेपाल उपाध्यक्ष पबित्रा पौडेल ढकाल, नेपाल पत्रकार महासंघ पाल्पा जिल्ला उपाध्यक्ष तथा सञ्चारिका समुह सल्लाहकार सिर्जना घिमिरे, श्री दियालो सामाजिक उधमी महिला सहकारी अध्यक्ष इस्वरी देबि खनाल, ईस्लामपुर आमा समूह अध्यक्ष समिना खातुनले आ-आफ्ना भनाइ राख्नुभएको थियो।

रामपुर नगरपालिकाले मनोरञ्जनात्मक कार्यक्रमसंगै कुर्ची दौड प्रतियोगिता र विभिन्न क्षेत्रमा योगदान पुर्याइ स्थापित भएका महिलाहरुलाइ सम्मान कार्यक्रम गरेको थियो ।

कार्यपालिका सदस्य दुर्गादेवी भण्डारीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन न्यायिक सचिवालयका कर्मचारी पार्वती परियारले गर्नुभएको हो ।