पाल्पा । रामपुर अस्पतालको नव निर्मित भवन बुधबार अस्पताललाई हस्तान्तरण गरेकाे छ । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले सरोकारवालाहरुको उपस्थितिमा रामपुर अस्पताल विकास समितिलाई हस्तान्तरण गरेको हो ।
संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका निमित्त आयोजना प्रमुख सुशिल रसायलीले रामपुर अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकाललाई भवन हस्तान्तरणको प्रमाण पत्र प्रदान गरेकाे थियो । भवन हस्तान्तरण कार्यक्रमको उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले यस अघि भवन अभावमा सेवा दिन समस्या भए पनि अब भवन तयार भएकाले जनताको गुनासो नरहने गरि काम गर्नु पर्ने बताएका थिए ।

५० शैयाको अस्पताल रामपुरको विकासको लागि महत्वपूर्ण रहेको बताउदै। श्रेष्ठले रामपुर अस्पताल पालिका स्तरमा निर्माण भएका अन्य अस्पतालको अभिभावकत्व ग्रहण गर्ने र विशेषज्ञ सेवा दिने अस्पतालको रुपमा स्थापित हुनु आवश्यक रहेको बताए । श्रेष्ठले प्रदेश सरकारको मातहतमा रहेको रामपुर अस्पताल लुम्बिनी प्रदेशको नजरमा रहेको बताउँदै अस्पतालको सेवा विस्तार र दिगोपनको लागि आफु लागि रहेको बताएका थिए ।
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले स्तरिय सेवा कसरी दिने भन्ने तर्फ केन्द्रित हुनु पर्नेमा जोड दिएका थिए । थापाले रामपुर अस्पताल रामपुर नगर मात्र नभै गण्डकी बेशी क्षेत्रका जनताको लागि प्रत्यक्ष भुमिका खेल्ने अस्पताल रहेको भन्दै नगरपालिकाबाट अस्पतालको व्यवस्थापन र सञ्चालनका लागि पूर्ण साथ र सहयोग रहने बताए ।
संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका निमित्त आयोजना प्रमुख सुशिल रसायलीले प्रमाण पत्र प्रदान गर्दै चारवटा ब्लकमा निर्माण भएको भवनमा तयार भएका पूर्वाधारका बारेमा जानकारी गराएका थिए । निर्माण कम्पनी रबिना कन्ट्रक्सन प्रा.लि.ले निर्माण सुरु भएको ७ वर्ष पछि रामपुर अस्पतालको नव निर्मित भवन हस्तान्तरण गरेकाे हाे ।
अस्पताल विकास समितिका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रम रामपुर अस्पतालका प्रशासन सहायक हिरा वि.क.को स्वागत र संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका प्रशासन प्रमुख नवीन पन्थीको सञ्चालनमा भएको हो । अस्पतालको भवन २०७२ साल कार्तिक १७ गते रबिना कन्ट्रक्सन प्रा.लि. काठमाडौंले सम्झौता गरि निर्माण थालेको थियो । १७ सय वर्ग मिटरमा फैलिएर तयार भएको अस्पतालको भवन सहितको संरचना भ्याट बाहेक २० करोड २ लाख ८२ हजार ९ सय ८६ रुपैयाँ ७७ पैसाको लागतमा तयार भएको हो ।


