पाल्पाका विद्यार्थी संगठनद्धारा ४५ प्रतिशत भाडा छुटकाे माग

बाेलीखबर   २०७९-१२-२४

पाल्पा । सार्वजनिक यातायातमा विद्यार्थी, अपाङ्ग, तथा जेष्ठ नागरिकले छुट सुबिधा नपाएको भन्दै  पाल्पाकाे तानसेन स्थित विद्यार्थी सङ्गठनहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । पाल्पामा सञ्चालन हुने सार्वजनिक यातायातले जेष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएकालाई भाडामा छुट नदिएको भन्दै विद्यार्थी सङ्गठनहरूले सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका हुन् ।

पाल्पामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले विद्यार्थीलगायत अन्य मानिसलाई ४५ प्रतिशत भाडामा छुट दिनुपर्ने प्रावधान उल्लङ्घन गरेको अखिल क्रान्तिकारीको भनाई छ । क्रान्तिकारीले पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकारसँग भएको सम्झौता अनुसार विद्यार्थी, जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकले भाडामा छुट पाउनुपर्ने र त्यसको कडाईका साथ कार्यान्वयन हुनुपर्ने अखिल क्रान्तिकारीको माग रहेको त्रिभुवन बहुमुखी क्याम्पसका इन्चार्ज ताराबहादुर रायमाझीले जानकारी दिए। क्रान्तिकारीले पश्चिम नेपाल बस व्यवसायी प्रा लि, श्रीनगर यातायात सेवा प्रालिलाई समेत ज्ञापनपत्र तथा मागपत्र बुझाएको छ ।

यातायात व्यवसायीले इन्धनको मुल्य बढाउँदा तत्काल भाडा बढाउने तर सरकारले भनेअनुसारको विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गलाई छुट सुबिधा नदिएको क्रान्तिकारीका नेता पदम सोमैले बताए । भाडाकाे छुटबारे ज्ञापनपत्र बुझाएपछि विद्यार्थीमा केही आशा पलाएकाे छ । पाल्पामा पछिल्लाे समय निरिह्य बनेकाे विद्यार्थी संगठनकाे गतिबिधिले विद्यार्थीकाे हकहितमा काम हुने अपेक्षा विद्यार्थीहरूले गरेका छन् ।