काठमाडौँ । पञ्जीकरण विभागले यसअघिको बच्चाको जन्म दर्तामा मावली थर लेख्ने भनी स्थानीय तहलाई गरेको परिपत्र सच्याएको छ ।
आइतबार विभागले सबै वडा कार्यालयलाई पुनः परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गर्न भनेको छ । यसअघि विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको मावलीकै थरबाट जन्मदर्ता गर्न वडालाई पत्राचार गरेको थियो ।
आइतबार विभागले जारी गरेको आठ बुँदे परिपत्रमा ‘एकल महिलाबाट जन्मेका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगानाबाट गर्न निर्देशन दिएको हो । त्यस्तै विवाह अघि बच्चा जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिन भनेको छ । यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्म दर्ता गरिदिने ।
विभागको परिपत्रमा भनिएको छ, ‘बच्चाको जन्म दर्ता भइसकेपछि पितृत्व र बाबुको ठेगान पत्ता लागेको अवस्थामा माथि प्रकरण नम्बर (१) र (२) अनुसार भएको जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट बाबु वा आमा वा दुबैको थर राखी नयाँ जन्मदर्ता गरिदिने ।’ त्यस्तै नेपालभित्र फेला परेको पितृत्वा वा मातृत्वको ठेगना नभएको बच्चाको कुनै पनि परिवार नभएको प्रमाणित भएको बच्चा फेला परेमा हेरचाह गर्ने कानून बमोजिमको संरक्षक व्यक्तिले दिएको ठेगाना, नाम, थर राखेर जन्मदर्ता गरिदिने उल्लेख छ ।
बाबु आमाको कानून बमोजिम सम्वन्धविच्छेद भई आमासँग रहने छोराछोरीको जन्म दर्ता गर्दा बाबुको स्थायी ठेगानामा दर्ता नभएको एकि गरी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गर्न भनिएको छ ।