पाल्पा । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पामा खाना महोत्सव भएको छ । विद्यार्थीहरूलाई मौलिक परिकार तथा सांस्कृतिक विविधता बारे जानकारी दिन विद्यालयको ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा खाना महोत्सव भएको हो ।
कार्यक्रममा कक्षा ६ देखि माथिका विद्यार्थीहरुले सिस्नो, बटुक देखि यमोरी सम्मका मौलिक खानाका परिकार तयार गरी विक्री वितरण गरेका थिए । विद्यालय पुगेका अभिभावक तथा पाहुनाले गाउँघरमा पाईने सिस्नो, बटुक, सेलरोटी, यमोरी, फुरौला, खिर अचार, भुटेको मकै तथा भटमास लगाएतका परिकारको स्वाद लिनु भएको थियो । विद्यार्थीले कक्षा शिक्षकको सहयोगमा फरक फरक परिकार तयार गरी आफैले विक्री वितरण गरेका थिए ।
महोत्सवमा २६ वटा खानाका परिकारहरुको स्टल राखिएको थियो । स्टलहरुमा लोप हुन लागेका परम्परागत खानाका परिकारहरुलाई प्राथमिकता दिएर राखिएको सहायक प्रधानाध्यापक पूर्ण चन्द्र घिमिरेले बताउनुभयो । स्थलहरुमा मगर, नेवार, थारु लगाएत विभिन्न समुदायको मौलिक खाना संगै आधुनिक खानाका परिकार राखिएको थियो ।