पाल्पा । नवनिर्मित इलाका प्रशासन कार्यालय रामपुर पाल्पाको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकद्धारा समुद्घाटन भएको छ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
गृहमन्त्री लेखकले लोकतन्त्र अनि बिकासको मुल आधार भनेकै बलियो शान्ति सुरक्षा रहेको बताउनु भयो । गृहमन्त्री लेखकले शान्ति सुरक्षा बलियो र नीतिगत तरिकाले अगाडी बढेको छ त्यहाँ बिकासको गति तीब्र भैरहेको बताउनु भयो । सरकार मुलुकको शान्ति सुरक्षाका लागि सदैब तत्पर रहेकोे बताउनुभयो ।
देशका उद्योगधन्दा, व्यापार ब्यबसाय र नागरिकलाई दिइने सेवा सुबिधाका लागि सरकार हरकदम लागिपरिरहेकोले कुनै पनि ढिलासुस्ती नगरेको उहाँले बताउनु भयो ।
नागरिकलाई सहज र सरल रुपले सेवा प्रदान गर्नका लागि सरकार लागिरहेको बताउनुभयो । “सरकारको पहिलो प्राथमिकता भनेको नागरिकलाई सेवा प्रदान गर्नु हो । हामी यो विषयमा चिन्तित छौं । नागरिकलाई कुनै समस्या नहुने गरेर सेवा दिन हामी लाग्छौं ।” उहाँले भन्नुभयो ।
कार्यक्रमको अवसरमा कार्यालयमा राहदानी र राष्ट्रिय परिचय पत्र सेवाको शुभारम्भ गर्नुहुँदै उहाँले कर्मचारीको अभाव र कुनै पनि सामाग्रीको कारणले कुनै पनि हालतमा सेवा अवरुद्ध हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
२०७३ साल असार १० गते पालको पुर्व क्षेत्र समेटेर रामपुरमा इलाका प्रशासन कार्यालय स्थापना भएको थियो । ३ स्थानसम्म भाडाको घरबाट सेवा दिदै आएको इलाका प्रशासन कार्यालयले भवन निर्माण सम्पन्न गरि गत साउन ७ गतेदेखि आफ्नै कार्यालयबाट सेवा दिन शुरु गरेको थियो । इलाका प्रशासन कार्यालय रामपुरले हाल रामपुर नगरपालिकाका १० वटै वडा, निस्दीको १ देखि ६ वडा नम्बर र पुर्वखोला गाउँपालिकाको १ नम्बर वडा गरि १७ वडालाई सेवा दिदै आएको छ ।
२०७७ साल माघ १३ गते पुर्जा पाएको र २०७० साल असार २२ गते बाँसुरी मोबाइल जे.भी.सँग ठेक्का सम्झौता भएर भवन निर्माण शुरु भएको थियो । डिपिआर सहित कुल ४ करोड ५६ लाख ७७ हजार ५ सय ७१ रुपँयाको लागतमा गत २०८१ असार २२ मा निर्माण सम्पन्न भई हस्तान्तरण गरेको हो । संघीय आयोजना कार्यान्वयन इकाई भैरहवा अन्तर्गत रहेको भवन ठेकेदार भुक्तानी ४ करोड ३४ लाख ८० हजार ८ सय ८० रुपैयामा भएको हो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले पाल्पाको रामपुर क्षेत्र बाट महत्वपूर्ण कार्यहरुको सुरुवात हुँदै आएको स्मरण गराउँदै पाल्पामा सबै राजनैतिक दलहरु एकताबद्ध भएर सार्वजनिक चासोका विषयमा सहकार्य गरेर अघि बढेको बताउनुभयो । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले धार्मिक तथा आर्थिक हिसाबमा कालीगण्डकी उपत्यका सम्भावना भएको स्थान भएको बताउँदै कालीगण्डकी करिडोरले यहाँका जनताको भाग्य रेखा कोरेको बताउनुभयो ।
लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन उपसमितिका सभापति राजु प्रसाद श्रेष्ठले याहाँको विकासको लागि जनप्रतिनिधिहरु निरन्तर रुपमा लाग्दै आएपनि नतिजा दिन नसक्दा जनतामा निराशा छाएको बताउनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य विर बहादुर रानाले मुलुकको समृद्धिको पक्षमा सबै राजनैतिक दलहरु एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले संघियता कार्यान्वयनका सवालमा देखिएका समस्याहरुलाई नीतिगत सम्बोधन हुने गरी निकास दिनुपर्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले रामपुर नगर र जिल्लाको पूर्वी क्षेत्रका पालिकाको शान्ति सुरक्षाका लागि रामपुरमा डिएसपी सहितको प्रहरी दरबन्दी र सशस्त्र प्रहरी बलको क्याम्प आवश्यक रहेको आवश्यक रहेको बताउनुभयो । धार्मिक नदी कालीगण्डकीलाई डाईभर्सन गर्नु कुरा याहाँका जनताले कुनै हालतमा स्वीकार नगर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सिनाले आफ्नै भवन बाट सेवा प्रवाह संगै सेवा विस्तार हुनु खुशीको कुरा रहेको बताउनुभयो ।
कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडीले सरकारी सेवा सुविधालाई सरल र सहज रुपमा प्रदान गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले अब लाईन लागेर नभै अनलाईन बाटै सेवा प्रवाहका लागि सरकार लागेको बताउनु भयो । १४ कोठा सहितको कार्यालयको भवन चार करोड ३४ लाखमा निर्माण भएको जानकारी दिदै पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले भवन निर्माण संगै राहदानी र राष्ट्रिय परिचय पत्र सेवा शुभारम्भ गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमको अवसरमा बासुरी मोबाईल जेभी निर्माण कम्पनीका प्रतिनिधि खिम बहादुर केसी पुरुषोत्तमलाई कार्यालयले समय मै निर्माण सम्पन्न गरेको भन्दै सम्मान गरेको थियो ।
२०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालयले रामपुर नगरपालिका, निस्दी र पूर्वखोला गरी जिल्लाको तीन पालिका भित्रका १७ वडाका नागरिकलाई सेवा प्रदान गर्दै आएको छ । गृह सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीको स्वागत र प्रशासकीय अधिकृत दिनेश ज्ञावलीको सञ्चालनमा भएको हो ।